नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुनमा भारतसँग मैत्रीपूर्ण म्याच खेल्ने भएको हो ।
एन्फाले फागुन १ देखि १३ गतेसम्म मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकृत भएको एन्फा प्रवक्ता सुरेश शाहले जनाएका छन् ।
एन्फाले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल र भारतले कति म्याच खेल्ने छन् भनेर भने उल्लेख गरिएको छैन । नेपाल र भारतले पछिल्लोपटक ६ महिनाअघि प्रतिस्पर्धा गरेका थिए ।
गत भदौमा काठमाडौंको दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई १–० ले हराएको थियो । नेपालले साफ इतिहासमा पहिलोपटक भारतलाई हराएको थियो ।














