यो वर्ष नेपालको धान उत्पादनमा वृद्दि
काठमाडौं । समयमै मलको अभाव र बेमौसमी झरीका बीच पनि यो वर्ष नेपालको धान उत्पादनमा वृद्धि भएको छ ।
बिहीवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो वर्ष साढे तीन लाख मेट्रिकटनले धान उत्पादन बढेको देखिएको हो ।
मन्त्रालको प्रारम्भिक अनुमान अनुसार यो वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिकटन धान उत्पादन हुने देखिएको छ । जुन गत वर्ष भन्दा ३ लाख ५५ हजार ८४७ मेट्रिकटनले धेरै हो ।
आर्थिक वर्ष (आव) २०७८/७९ मा ५१ लाख ३० हजार ६२५ मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । यो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.७९ प्रतिशतले वृद्धि हुँदा समग्र धान उत्पादन वृद्धिदर गतवर्षको भन्दा ६.९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
गत वर्ष भन्दा धान रोपाइँ हुने क्षेत्रफल घट्दा पनि धान उत्पादनमा भने वृद्धि हुने देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
यो वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन घटेको छ । गत वर्ष कुल १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकामा यस वर्ष १४ लाख ४७ हजार ७८९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।














