बागमती किनारका सुकुम्बासी हटाउन मेयर बालेनले मागे गृहमन्त्री रवी लामिछानेको सहयोग
काठमाडौं । बागमती किनारमा अनधिकृत रुपमा घर टहरा बनाइ बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउनको लागि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयसंग सहयोग मागेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहयोग नगरेपछि महनगरले गृह मन्त्रालयलाई पत्राचार गरेर थापाथली किनारमा रहेको बस्ती हटाउन सहयोग मागेको हो ।
‘यसअघि हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सहयोगका लागि माग गरेका थियौं । प्रशासनबाट मद्दत नभएपछि गृहलाई सिधै पत्राचार गरेका हौं । ‘ मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले भने ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा हस्ताक्षार गरिएको पत्रमा नदी किनारमा रहेको संरचना हटाउन पटक-पटक खोजे पनि अवरोधका कारण सफल नभएको उल्लेख गरेको छ । पत्रमा मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई संरचना हटाउनका लागि आवश्यक निर्देशन एवं समन्वय गरिदिन अनुरोध गरिएको छ ।