देउवाका कारण कांग्रेस गम्भीर संकटमा फस्दै गएको असन्तुष्ट पक्षको दाबी, विशेष अधिवेशन बोलाउन माग
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट नेताले सभापति शेरबहादुर देउवाका कारण पार्टी गम्भीर संकटमा फस्दै गएको निष्कर्ष निकालेका छन् ।
उनीहरुले देउवाको विभेदकारी नीतिकै कारण सत्ता गुमाउन परेको उनी पहिल्यैदेखि पार्टीभित्र विभेद गर्दै आएको आरोप समेत लगाएका छन् ।
यही विभेदकारी नीतिकै कारण हालै सम्पन्न आम निर्वाचनमा हस्ती नेताहरुलाई नै टिकट नदिइएको असन्तुष्टमध्येका एक नेता जगदीश्वर नरसिंह केसीले बताए ।
जनताको बीचमा लोकप्रिय तर फरक बिचार राखेका कारण देउवाले टिकट नदिएको उनको भनाइ छ ।
देउवाको विभेदकारी नीतिका कारण मीनेन्द्र रिजाल, गोविन्द पोखरेल, सबुजकृष्ण बाँनिया, जीतनारायण श्रेष्ठ, रमेश धमला, ऋषि राम घिमिरे, मधु आचार्य उज्वल बराल, रामचन्द्र खड्का, रधु न्यौपाने, भुपेन्द्र जंग शाही, डा स्वर्णीम वाग्ले, खड्क बहादुर शाहीलगायतलाई चुनाव लड्नबाट विमुख गराउने काम भएको उनीहरुको भनाइ छ । केसी पनि चुनावमा टिकटको आकांक्षी थिए ।
नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथा बागमती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार केसीले विगतदेखि नै देउवाको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।
केसीले पार्टी सभापतिले आफ्नो दुई हातमा आएको लड्डुलाई नालीमा फाल्ने काम गरेको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँ पहिलो पटक र दोस्रो पटकको सभापतिमा पनि पूर्ण असफल हुनुभयो । पहिला प्रत्यक्षमा पार्टी २३ सिटमा खुम्चियो । दोस्रो कार्यकालमा यत्रो गठबन्धन गर्दा पनि ५७ सिट जित्यो । समानुपातिकमा ६ लाख भोट घट्यो, जवकी ४४ लाख मतदाता थपिएका थिए ।’
देउवा असफल सभापति भएकाले उनले तत्काल नैतिक दृष्टिले संसदीय दलको नेता र सभापतिबाट राजीनामा दिएर बाटो खुला गरिदिनुपर्ने उनले माग गरे । ‘अब उहाँ अभिभावक भएर पार्टीमा बस्नुभन्दा अर्को विकल्प छैन । नेपाली कांग्रेसलाई बचाउनका लागि देशभरका साथीहरुसँग मिलेर कांग्रेस बचाउ अभियान अन्तर्गत उहाँको राजीनामा र पार्टीको शुद्धीकरण तथा सुदृढीकरण गर्नका लागि सबै एक भएर अगाडि बढ्छौँ।’ उनले भने ।
यसका लागि आफूहरु निरन्तर छलफलमा रहेको र दवावमूलक कार्यक्रम तय गरिने केसीले बताए । उनले समस्याको निकासका लागि विशेष महाधिवेशन बोलाइनुपर्ने पक्षमा आफूहरु रहेको पनि बताए ।
संसदको ठूलो पार्टी हुँदा हुँदै पनि कांग्रेसले राष्ट्रपति र सभापति दुवै पदमा दाबी नछाड्दा नाटकीय ढंगले सरकार निर्माणमा नयाँ समीकरण बनेको थियो । एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री भएपछि देउवा पार्टीभित्र आलोचित बनेका छन् ।
देउवाले नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी समेत दिएका छन् ।
यस्तै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतले पनि देउवाको कार्यशैलीको खुलेर आलोचना गरेका छन् ।
कांग्रेसको असन्तुष्ट समूहले पार्टीको आगामी केन्द्रीय समिति बैठकमा यो विषयलाई जोडतोडका साथ उठाउने तयारी गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस २२ गते बस्दैछ ।
















