म्यानचेस्टर सिटीले विश्वकपबाट कमायो ४५ लाख पाउण्ड
दोहा । कतारमा जारी विश्वकपबाट सर्वाधिक रकम कमाउने क्लबमा इंग्ल्याण्डको म्यानचेस्टर सिटी दरिएको छ। उसले विश्वकपमा सहभागी भएको आफ्नो क्लबका खेलाडीहरुलाई रिलिज गरेबापत ४५ लाख पाउण्ड प्राप्त गर्ने भएको छ।
फिफाले क्लब बेनिफिट्स कार्यक्रमअन्तर्गत यसपालि कीर्तिमानी १६ करोड ९० लाख पाउण्ड वितरण गर्दैछ। विश्वकपमा सहभागी भएबापत प्रत्येक खेलाडीलाई दिनको १० हजार डलर उपलब्ध गराउने फिफाको नीति अनुरुप क्लबहरुले यी रकम प्राप्त गर्न लागेका हुन्।
खेलाडी रिलिज गरेबापत क्लबलाई उपलब्ध गराउने रकममा खेलअवधिको मात्र नभई विश्वकपभन्दा एक साताअघि तयारीबापत पनि रकम उपलब्ध गराइने नियम छ।
कतारमा जारी विश्वकपमा प्रिमियर लिग विजेता क्लबबाट १६ खेलाडी विभिन्न ९ वटा देशमा छरिएर खेलेका थिए। जसमा अन्तिमसम्म पुग्ने खेलाडी अर्जेन्टिनाका जुलियन अल्भारेज हुन् । उनी आइतबार फ्रान्सविरुद्धकाे खेलका लागि तयार छन्। उनी सिटी क्लबमा आबद्ध छन्। यो क्लबमा ज्याक ग्रेलिस, इडेर्सन र बर्नान्डो सिल्भा जस्ता खेलाडी क्वाटर फाइनलसम्म पुगेका थिए।
दि टाइम्सको रिपोर्टमा सिटीपछि बार्सिलोनाले सर्वाधिक रकम प्राप्त गर्ने भनिएको छ। जारी विश्वकपमा बार्सिलोनाबाट १७ खेलाडी सहभागी थिए, जसमा ८ खेलाडी त स्पेनी टिममै समावेश थिए। क्लबले ३३ लाख २० हजार पाउण्ड प्राप्त गर्नेछ।
फाइनल खेल्न लागेका म्यानचेस्टर युनाइटेड क्लबका डिफेण्डर राफायल भार्ने र लिसान्द्रो मार्टिनेजका कारण इंग्लिस क्लबले २९ लाख २० हजार पाउण्ड प्राप्त गर्नेछ। युनाइटेडबाट यसपालि १३ खेलाडी सहभागी थिए।
यस्तै १२ खेलाडी सहभागी चेल्सीले २४ लाख ६० हजार पाउण्ड, ११ खेलाडी समावेश टोटेनहामले २३ लाख २० हजार पाउण्ड र १० खेलाडी सहभागी आर्सनलले २१ लाख पाउण्ड प्राप्त गर्नेछ।















