विश्वकपमा आज क्रोएसियासँग जापान र ब्राजिलविरुद्ध दक्षिण कोरिया खेल्दै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुईवटा नकआउट चरणका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा एसियन टोली जापानले गत उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ मा अल जनुब स्टेडियममा सुरु हुनेछ । जापान समूह ‘इ’ को विजेता तथा क्रोएसिया समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका हुन् ।
समूह चरणमा जर्मनी र स्पेनलाई हराएको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा कायम राख्दै क्वार्टरफाइलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । समूह चरणमा अपराजित रहेको क्रोएसिया पनि जापानविरुद्ध सोही लयलाई निरन्तरता दिँदै क्वाटरफाइनलमा पुग्ने सोचमा छ ।
सोमबार नै हुने दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ मा स्टेडियम ९७४ मा सुरु हुनेछ । ब्राजिल समूह ‘जी’ को विजेता तथा दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताका रूपमा अन्तिम १६ प्रवेश गरेका थिए ।
समूह चरणको अन्तिम खेलमा क्यारुनसँग हार बेहोरेको ब्राजिल त्यसलाई भुलाउँदै दक्षिण कोरियाविरुद्ध जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई हराएको दक्षिण कोरिया पनि त्यसलाई कायम राख्दै ब्राजिललाई स्तब्ध बनाउने सोचमा छ ।














