अमेरिकी केन्द्रीय बैङ्कको कडा नीतिको प्रभाव, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट
गोबिन्द गुरुङ ‘लेक्स’
कार्लाल, पेन्सिल्भेनिया / अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अधिकारीहरूले ब्याजदर बढाउन सकिने सङ्केत दिएपछि मङ्गलवार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा दुई प्रतिशतसम्म गिरावट आएको छ।्
आगामी डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावना बलियो बन्दै जाँदा सुनको मूल्यमा दबाब परेको हो।
यसका साथै अमेरिकी सेयर बजारमा आएको गिरावटपछि लगानीकर्ताहरूले विभिन्न क्षेत्रमा गरेको लगानी फिर्ता लिन थालेका छन्। यसको असर सुन, चाँदीलगायत बहुमूल्य धातुको बजारमा समेत परेको छ।
मङ्गलवार बिहान अमेरिकी पूर्वी समयअनुसार १२ बजेर ५ मिनेटमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य १.८ प्रतिशतले घटेर तीन हजार पाँच सय ६६ दशमलव ४५ अमेरिकी डलर कायम भएको थियो। कारोबारका क्रममा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार पाँच सय ५८ दशमलव ६९ डलरसम्म पुगेको थियो।
यसअघि अघिल्लो कारोबार सत्रमा सुनको मूल्य झन्डै चार प्रतिशतले बढेको थियो। तर, गत शुक्रवार सुनको मूल्य एक वर्षभन्दा लामो अवधिकै न्यून विन्दुमा पुगेको थियो।
त्यस्तै, अमेरिकी बजारमा भविष्यमा सुन खरिदबिक्री गर्ने सम्झौताअन्तर्गतको मूल्य पनि २.३ प्रतिशतले घटेर प्रतिऔँस तीन हजार पाँच सय ६५ दशमलव ७० डलरमा झरेको थियो।
फरेक्स डटकमका बजार विश्लेषक फवाद रजाकजादाका अनुसार अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैङ्कहरूले कडा मौद्रिक नीतिको सङ्केत गरिरहेका कारण सुनको मूल्यले बलियो आधार पाउन सकेको छैन।
उनका अनुसार अमेरिकी सेयर बजारबाट लगानीकर्ताहरूले लगानी फिर्ता लिन थालेपछि आवश्यक मार्जिन व्यवस्थापन गर्न सुन र चाँदीसमेत बिक्री गर्नुपर्ने अवस्था आएको छ। यसले बहुमूल्य धातुको मूल्यमा थप दबाब सिर्जना गरेको छ।
अमेरिकी प्रविधि कम्पनीका सेयरमा आएको गिरावटसँगै नस्डाक र एसएन्डपी पाँच सय दुवै बजार सूचक ओरालो लागेका छन्। एनभिडियाको सेयरमा आएको तीव्र वृद्धिपछि कृत्रिम बौद्धिकतासम्बन्धी कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण घटेको देखिएको छ।
अब लगानीकर्ताहरूको ध्यान यसै साता सार्वजनिक हुने अमेरिकी व्यक्तिगत उपभोग खर्चसम्बन्धी मुद्रास्फीति प्रतिवेदनमा केन्द्रित भएको छ। उक्त प्रतिवेदनले डिसेम्बरमा हुने फेडरल रिजर्भको बैठकअघि आगामी मौद्रिक नीतिबारे स्पष्ट सङ्केत दिने अपेक्षा गरिएको छ।
सीएमईको फेडवाच उपकरणअनुसार बजारका लगानीकर्ताहरूले डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले बढाउने सम्भावनालाई लगभग निश्चित मानेका छन्। त्यस्तै, ब्याजदर शून्य दशमलव ५० प्रतिशत विन्दुले बढ्ने सम्भावना भने दुई प्रतिशत मात्रै अनुमान गरिएको छ।
सुनलाई सामान्यतया मुद्रास्फीतिबाट बच्ने सुरक्षित लगानीका रूपमा लिइन्छ। ब्याजदर बढ्दा ब्याज वा प्रतिफल नदिने सुनमा लगानी गर्नुको अवसर लागत बढ्ने भएकाले यसको आकर्षण घट्ने गर्छ।
न्युयोर्क फेडरल रिजर्भका अध्यक्ष जोन विलियम्सले सोमबार निरन्तर उच्च मुद्रास्फीतिले अमेरिकी केन्द्रीय बैङ्कलाई अझ कडा मौद्रिक नीति अपनाउने दिशामा अघि बढाइरहेको बताएका थिए। यद्यपि, आगामी दिनमा ब्याजदर कति बढाउने भन्ने निर्णय प्राप्त हुने आर्थिक तथ्याङ्कमा निर्भर रहने उनको भनाइ थियो।
हाल सुनको मूल्यमा गिरावट आए पनि केही अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले दीर्घकालीन रूपमा सुनको मूल्य बढ्ने अनुमान गरेका छन्।
जेपी मोर्गनले सन् २०२७ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔँस चार हजार पाँच सय अमेरिकी डलर पुग्न सक्ने प्रक्षेपण गरेको छ। त्यस्तै, कमर्ज बैङ्कले पनि सोही अवधिसम्म सुनको मूल्य प्रतिऔँस चार हजार एक सय डलर पुग्ने अनुमान गरेको छ।
अमेरिकी केन्द्रीय बैङ्कको ब्याजदरसम्बन्धी निर्णय, मुद्रास्फीतिको अवस्था र सेयर बजारको उतारचढावले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा अन्य बहुमूल्य धातुको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ।



















