देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई आइतवार सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाए।
‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ थापाले भने।
उनले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरूलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताए।
‘केही साथीहरू छोडेर जानुभएको छ। उहाँहरूलाई कांग्रेसले छाडेको हो। यो पनि हामीले भन्नुपर्ने छ। यसको उत्तर अब दिनुपर्छ,’ थापाले भने।
थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका विषयमा स्पष्ट समीक्षा गर्दै अघि बढ्नुपर्ने संकेत गरे। उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाउनुपर्ने बताए।

















