अमेरिकी नागरिक नै नभई भोट हाल्ने एक महिला पक्राउ
वासिङ्टन डीसी / अमेरिकाको नागरिक नै नभई मतदान गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) अन्तर्गतको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआई) ले सन् २०२४ को आमनिर्वाचनमा आफू अमेरिकी नागरिक भएको झुटो विवरण दिएर मतदान गरेको आरोपमा पेरुकी नागरिक मारियाना अलेक्जान्ड्रा डेवीलाई पक्राउ गरेको छ।
डीएचएसका अनुसार डेवीले सन् २०२४ नोभेम्बर ५ मा कन्सास राज्यको सेड्जविक काउन्टीस्थित होप चर्च मतदान केन्द्रमा अस्थायी मतदाता विवरण पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्। सोही दिन उनले कन्सास मतदाता दर्ता आवेदन पनि बुझाएकी थिइन्। दुवै कागजातमा मतदानका लागि आफू योग्य रहेको र अमेरिकी नागरिक भएको पुष्टि हुने विवरण समावेश थियो।
मतदाता दर्ता फाराममा अमेरिकी नागरिक हो कि होइन भन्ने प्रश्नमा डेवीले ‘हो’ भन्ने विकल्प रोजेकी थिइन्।
अनुसन्धानका क्रममा अधिकारीहरूले डेवीको ठेगाना परिवर्तन भएको जानकारी पाएपछि सन् २०२६ अप्रिल १ मा टेलिफोनमार्फत उनीसँग सम्पर्क गरेका थिए।
प्रारम्भमा उनले आफू अमेरिकी नागरिक भएको बताएकी थिइन्। पछि भने आफू वैध स्थायी बासिन्दा भए पनि अमेरिकी नागरिक नभएको स्पष्ट पारेकी थिइन्। उनले सन् २०२४ को आमनिर्वाचनमा मतदान गरेको पनि स्वीकार गरेको डीएचएसले जनाएको छ।
सन् २०२६ सेप्टेम्बर १ मा एचएसआईका विशेष एजेन्टहरूले उनलाई कन्सासको विचिटास्थित एक निवासबाट पक्राउ गरेका थिए । अनुसन्धानका क्रममा उनी अमेरिकी अध्यागमन कानुनको उल्लंघनको अवस्थामा रहेको पाइएपछि उनलाई स्थानीय आइस कार्यालयमा थप प्रक्रियाका लागि लगिएको थियो।
डेवीले अन्ततः कन्सास राज्यको कानुनअन्तर्गत निर्वाचनसम्बन्धी अव्यवस्थित आचरणको आरोपमा दोष स्वीकार गरेकी छन्।
डीएचएस सचिव मार्कवेन मुलिनले गैरनागरिकले अमेरिकी निर्वाचनमा मतदान गर्नु अमेरिकी नागरिकको मतदान अधिकारमाथिको उल्लंघन भएको बताएका छन्। उनले गैरनागरिकले निर्वाचनमा मतदान गरेको पाइएमा डीएचएसले अनुसन्धान, आपराधिक अभियोजन र आवश्यक परे देशनिकालासम्मको प्रक्रिया अघि बढाउने बताएका छन्।
डीएचएसका अनुसार यो पक्राउ ट्रम्प प्रशासनले अमेरिकी निर्वाचनमा गैरनागरिकको मतदान रोक्न र निर्वाचनको सुरक्षा तथा अखण्डता कायम गर्न अघि बढाएको अभियानकै हिस्सा हो।
विभागले सार्वजनिक गरेको विवरणअनुसार अगस्टमा एचएसआईको अनुसन्धानपछि नक्कली पहिचान प्रयोग गरी दुई दशकभन्दा बढी समय अमेरिकी निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको आरोपमा कोलम्बियाका एक गैरकानुनी आप्रवासीलाई सजाय सुनाइएको थियो।
त्यस्तै, जुलाईमा न्युजर्सीमा सन् २०२२ को निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको आरोपमा स्लोभाकियाकी नागरिक मारियन चारिटुन पक्राउ परेकी थिइन्। सोही महिनामा लुइजियानामा सन् २०२२ र २०२४ को निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको आरोपमा अस्ट्रेलियाकी डेनिस नाटाली मिग्लियोरे पक्राउ परेकी थिइन्।
मे महिनामा डीएचएस र न्याय विभाग (डीओजे) ले न्युजर्सीमा संघीय निर्वाचनमा गैरकानुनी रूपमा मतदान गरेको तथा अमेरिकी नागरिकताका लागि आवेदन दिँदा झुटो विवरण दिएको आरोपमा चार गैरनागरिकविरुद्ध अभियोग दायर गरेको जनाएको थियो।
यसैगरी, अप्रिलमा मेक्सिकोका जोसे सेबालोसले कन्सासमा पटक–पटक गैरकानुनी रूपमा मतदान गरेको र आफू अमेरिकी नागरिक भएको झुटो दाबी गरेको आरोपमा निर्वाचनसम्बन्धी अव्यवस्थित आचरणका तीनवटा अभियोगमा दोष स्वीकार गरेका थिए।
मार्चमा मौरिटानियाका नागरिक महादी साको पनि सन् २००८ देखि अमेरिकामा गैरकानुनी रूपमा मतदान गर्दै आएको आरोपमा आइसद्वारा पक्राउ परेका थिए।
डीएचएसले पछिल्ला महिनाहरूमा निर्वाचनको अखण्डता र सुरक्षा कायम गर्न थप कदम चालिएको पनि जनाएको छ। जुलाईमा सचिव मुलिनले विभिन्न राज्यका सचिवहरूलाई पत्र पठाउँदै हजारौँ गैरनागरिक मतदाता दर्ता भएको दाबीबारे सचेत गराएका थिए।
त्यस्तै, जुलाईमा फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फिमा) ले निर्वाचनको अखण्डतासँग सम्बन्धित केही प्रमुख कदम अनिवार्य रूपमा लागू गर्नुपर्ने गरी अनुदानसम्बन्धी व्यवस्था गरेको डीएचएसले जनाएको छ। जुन महिनामा डीएचएसले अमेरिकी निर्वाचनमा गैरनागरिकले गैरकानुनी रूपमा मतदान गरेको अवस्थामा कडा कारबाही तथा देशनिकालासहितका कदम लागू गर्न आइसलाई निर्देशन दिएको थियो।
फोटो : डीएचएस















