‘काम गर्न नसक्नेले अब कुर्सी खाली गरिदिनुपर्छ’
शेखर काकु
ह्यारिसबर्ग पेन्सिल्भेनिया / समाजसेवा निस्वार्थ भावना र समर्पणको उत्कृष्ट प्रतीक हो। समाजको रूपान्तरण र दुःखी, पीडितहरूको सेवाका लागि पद वा धनभन्दा पनि ठूलो र उदार हृदयको आवश्यकता पर्दछ। साँचो समाजसेवीले अरूको दुःखमा मलम लगाउने प्रयास गर्छ, सुखमा पनि सँगै रमाउने प्रयत्न गर्छ र बिना कुनै स्वार्थ निरन्तर सेवामा लागिरहन्छ।
तर, आजको समाजमा समाजसेवाको नाममा आफ्ना व्यक्तिगत र राजनीतिक स्वार्थ पूरा गर्ने अवसरवादीहरूको सङ्ख्या बढ्दो छ। यस्ता तत्त्वहरूले सेवाको पवित्र भावनालाई आफ्नो प्रचारप्रसार र फाइदाको माध्यम बनाइरहेका छन्। अवसरवादीहरूले गर्दा वास्तविक र सच्चा समाजसेवीहरूको योगदान ओझेलमा पर्ने खतरा रहन्छ।
त्यसैले, वास्तविक समाजसेवाको मर्म जोगाउन र समाजलाई सही दिशा दिन अवसरवादीहरूलाई बहिष्कार (वोईकट) गर्नु अनिवार्य छ। निस्वार्थ रूपमा काम गर्ने पवित्र हृदय भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै स्वार्थी र ढोँगीहरूलाई चिनेर तिनलाई समाजबाट पाखा लगाउनु नै आजको आवश्यकता हो। समाजको वास्तविक विकास र उत्थान तब मात्र सम्भव छ जब सेवामा निःस्वार्थता र पवित्रता कायम रहन्छ।
हाम्रो जस्तो विकासोन्मुख समाज आज अनेकौँ गम्भीर सामाजिक र मानसिक चुनौतीहरूसँग जुधिरहेको छ। एकातिर युवाहरूमा तीव्र गतिमा बढ्दै गएको आत्महत्या र निराशाको दर, अर्कोतिर किशोर-किशोरीहरूलाई गाँज्दै लगेको लागू औषधको दुर्व्यसन, सामाजिक युवा शक्ति देश निकाला हुँदै गर्दा पर्ने बाध्यता र मानसिक स्वास्थ्यप्रति समाजको उदासीनता—यी सबै हाम्रा तीता यथार्थ हुन्।
यस्ता जटिल समस्याहरूले समाजको मूल जरो नै हल्लाइरहेका बेला यी समस्या सुल्झाउने जिम्मा लिएर बसेका समाजसेवी र गैरसरकारी संघ-संस्था का प्रतिनिधिहरूको कार्यशैली भने अत्यन्त निराशाजनक देखिन्छ।
समाजसेवाको पवित्र नारा बोकेर संस्थामा छिरेका र आकर्षक तलब सुविधा लिइरहेका सरोकारवालाहरू आज समाजका वास्तविक पीडितको सेवामा होइन, संस्थाभित्रै आन्तरिक राजनीति र खुट्टा तानातानमा व्यस्त छन्।
पद, प्रतिष्ठा, बजेट र शक्ति हत्याउने दाउपेचमा उनीहरूले आफ्ना आधारभूत कर्तव्य र नैतिक जिम्मेवारीलाई पूर्णतः बिर्सिएका छन्। समाज सुधारका लागि आएका ठुला-ठूला अनुदान र सरकारी बजेट संस्थाका पदाधिकारीहरूको सेवा सुविधा, बैठक, र कागजी प्रतिवेदनमै सीमित हुन पुगेका छैनन् भन्न सकिदैंन।
समस्या समाधानका नाममा गोष्ठी र सेमिनारहरू त आयोजना हुन्छन्, तर तिनको प्रभाव गाउँ-घर र वास्तविक पीडितसम्म कहिल्यै पुग्दैन र पुगेको पारदर्शिता छैन।
यदि तलब, भत्ता र सुविधा लिएर पनि संस्थाभित्र गुटबन्दी गर्ने, अरूको काममा टाङ अडाउने र केवल व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्र नियत छ भने त्यस्ता नाम मात्रका समाजसेवीहरूले स्वतः हात उठाएर बाहिरिनु नै उत्तम हुन्छ।
समाजसेवा कुनै जागिर वा राजनीतिक दाउपेच खेल्ने अखडा होइन; यो त निस्वार्थ भावले मानव सेवामा समर्पित हुने एउटा पवित्र माध्यम हो। आज पद ओगटेर बसेकाहरूले के बुझ्न जरुरी छ भने, उनीहरूभन्दा कैयौँ गुणा बढी दक्ष, शिक्षित, र निस्वार्थ भावना भएका युवाहरू कुनै पनि सरकारी वा संस्थागत पैसा नलिईकन पनि समाजको रूपान्तरणका लागि अहोरात्र खटिन तयार भएर पर्खिरहेका छन्।
पैसामा बिकेको र गुटबन्दीमा अल्झिएको नक्कली समाजसेवाभन्दा निस्वार्थ भावनाले भरिएको स्वयंसेवा धेरै शक्तिशाली हुन्छ। आत्महत्या रोक्न सचेतना फैलाउने, लागू औषधमा फसेकाहरूलाई पुनःस्थापना गर्ने, मानसिक रोगबारे खुलेर कुरा गर्ने वातावरण बनाउने र युवाहरूलाई सामाजिक रोजगारी सिर्जना गर्ने जस्ता संवेदनशील विषयमा निष्ठावान् र दक्ष व्यक्तिको खाँचो छ।
तसर्थ, काम गर्न नसक्ने र संस्थाभित्र खुट्टा तानेर समय बिताउनेहरूले अब कुर्सी खाली गरिदिनुपर्छ, ताकि वास्तविक दक्ष र समर्पित व्यक्तिहरूले समाज सुधारको नेतृत्व लिन सकुन्।














