ओएचआरसीद्वारा आगामी तीन पर्वको दान-भेटी नेपालका बाढीपहिरो पीडितका लागि
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / हिन्दू धर्म तथा सांस्कृतिक संगठन ( ओएचआरसी) ले नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि आगामी प्रमुख धार्मिक पर्वहरूमा मन्दिरमा संकलन हुने सम्पूर्ण भेटी तथा दान रकम नेपाल पठाउने निर्णय गरेको छ।
पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित श्रीलक्ष्मी नारायण हरिहर धाममा गत शुक्रवार, अगस्ट २८ मा बसेको संगठनको आकस्मिक बैठकले कृष्ण जन्माष्टमी, ऋषि पञ्चमी र ऋषि श्रावणी (श्रावणी पूजा) का अवसरमा श्रद्धालु भक्तजनबाट मन्दिरमा संकलन हुने सम्पूर्ण भेटी तथा दान रकम नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको हो।
ओएचआरसीका मिडिया संयोजक सीएम निरौलाका अनुसार तीन वटै पर्वका अवसरमा मन्दिरमा पूजा अर्चना तथा दर्शनका लागि आउने भक्तजनले चढाउने भेटी, संकलित दान तथा अन्य विशेष सहयोग रकम एकमुष्ट रूपमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
संगठनले उक्त रकम सरकारी राहत कोषमार्फत बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उपयोग हुने विश्वास व्यक्त गरेको छ।
भक्तजनलाई खुला हृदयले सहयोग गर्न अपिल
बैठकको निर्णयबारे जानकारी दिँदै ओएचआरसीले नेपालमा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको दुःखद घडीमा आफ्नो सानो सहयोगले पनि प्रभावित परिवारलाई राहत पुग्न सक्ने भन्दै भक्तजनलाई सहयोगका लागि अपिल गरेको छ।
संगठनले भनेको छ, “नेपालमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको यस दुःखद घडीमा हाम्रो सानो सहयोगले पनि कसैको जीवन सुध्रिन सक्छ। त्यसैले आगामी जन्माष्टमी, ऋषि पञ्चमी र श्रावणी पूजाका दिन मन्दिर आउनुहुने सम्पूर्ण भक्तभावकहरूलाई नेपालको पुनर्निर्माणका लागि खुला हृदयले दान गरी यस पुण्य कार्यमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ।”














