मातृभूमिको पुनर्निर्माणका लागि एनआरएनए अभियन्ताहरूबिच भर्चुअल छलफल हुने, पूर्व अध्यक्ष सुनील साहको विशेष पहल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / मातृभूमि नेपालमा आइपरेको प्राकृतिक विपद् र त्यसपछिको पुनर्निर्माणमा गैर आवासीय नेपालीहरूको भूमिकालाई थप प्रभावकारी बनाउन एनआरएनए अभियन्ताहरूबिच विशेष छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने भएको छ।
“नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात् गर्दै क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणमा प्रवासी नेपालीहरूको सहभागिता, योगदान र सहकार्य सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष सुनील साहको पहल र सक्रियतामा यो कार्यक्रम हुन लागेको हो । साह एनआरएनए वृत्तमा प्रतिष्ठित र सफल परियोजनाहरू भित्र्याउने अभियन्ताका रूपमा चिनिन्छन् ।
यसअघि उनकै विशेष पहल र नेतृत्वमा एनआरएनएले सञ्चालन गरेको बहुचर्चित ‘मोबाइल ब्लड बैंक बस’ प्रोजेक्ट सफलतापूर्वक सम्पन्न भएको थियो ।
मातृभूमिलाई संकट पर्दा सधैँ साथ दिँदै आएका अभियन्ता साहले यसपटक पनि विपद्पछिको पुनर्निर्माणलाई गैर आवासीय नेपालीहरूको साझा दायित्व र ऐक्यबद्धताका रूपमा अगाडि बढाउन यो छलफलको नेतृत्व गरेको बताए ।
विश्वभर छरिएका एनआरएनए अभियन्ता तथा सरोकारवालाहरूलाई समेट्नका लागि कार्यक्रम भर्चुअल माध्यमबाट आयोजना गरिएको छ । आयोजकका अनुसार कार्यक्रमको विवरण यस प्रकार छ:
- मिति: २८ अगष्ट २०२६
- समय: साँझ ६ बजे (नेपाली समय)
- माध्यम: जुम (Zoom)
- जुम आईडी: 889 4501 4939
- पासकोड: 435257
विपदको घडीमा मातृभूमिलाई सहयोग गर्न र पुनर्निर्माणमा बलियो हातेमालो गर्नका लागि आयोजकले सम्पूर्ण गैर आवासीय नेपाली अभियन्ताहरूलाई यस महत्त्वपूर्ण छलफलमा उपस्थित भई आफ्ना अमूल्य सुझावहरू राख्न हार्दिक अनुरोध गरेका छन् ।














