एनआरएनए आईसीसी उपाध्यक्ष सुवेदीद्वारा बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग
ल्यान्कास्टर, पेन्सिल्भेनिया / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष बुद्धि सुवेदीले नेपालमा बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्व अध्यक्षसमेत रहेका सुवेदीले उक्त रकम एनआरएनए आईसीसीमार्फत नेपाल सरकारको राहत कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्।
नेपालमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै सुवेदीले सहयोगको घोषणा गरेका हुन्।
अगस्ट २६ गते बिहान तिब्बतबाट सुरु भएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
‘घटना सुनेदेखि नै म मर्माहत भएको छु। हामीले फेरि अर्को बज्रपात सहनुपरेको छ। यस दुःखद घडीमा नेपाल सरकारले सुरु गरेको उद्धार तथा राहत वितरण अभियानमा समर्थन जनाउँदै एनआरएनए आईसीसीको तर्फबाट सरकारको खातामा जाने गरी १० लाख रुपैयाँ सहयोग गर्दछु,’ सुवेदीले समाज टाइम्ससँग भने।
उनले विपद्को यस घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आह्वानसमेत गरेका छन्।
‘जो जहाँ हुनुहुन्छ, त्यहीँबाटै सकेको सहयोग गरौँ,’ उनले भने।
एनआरएनए आईसीसीले पनि बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका लागि नेपाल सरकारको दैविक प्रकोप राहत कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार एनआरएनएले प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माणका कामलाई समेत प्राथमिकता दिनेछ। स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने योजना रहेको उनले बताए।
‘हामीले तत्काल र भविष्यमा स्थानीय आवश्यकताका आधारमा भौतिक निर्माण तथा पुनर्निर्माणमा काम गर्ने सोच बनाएका छौँ,’ सुवेदीले भने।
अमेरिकामा सफल व्यवसायी सुवेदीले विपतबाट प्रभावित परिवारलाई सहयोग गर्न नेपाली समुदायसहित सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न आग्रह गरेका छन्।














