संकटमा सचेतना : आफ्नै घरको हिलो बिर्सेर अलपत्र यात्रुलाई भोजन गराउँदै गजुरीबासी
सुरेश सुवेदी
गजुरी धादिङ/ गजुरी, धादिङ प्रकृतिको अनौठो र भयावह वितण्डा अघि मानिस कति लाचार बन्छ भन्ने उदाहरण त बाढी र विपत्तिले देखायो ।
त्यही महाविपत्ति र राष्ट्रिय शोकका बीच मानवता कसरी जीवितै रहन्छ भन्ने एउटा सुन्दर र भावपूर्ण तस्बिर धादिङको गजुरीमा देखिएको छ।
त्यस दिन आकाशबाट पानी परेको थिएन, मौसम सामान्य नै देखिन्थ्यो। तर अचानक जीवनदायिनी त्रिशूली नदीमा अप्रत्याशित र अनपेक्षित रूपमा विशाल एवं भयानक आकस्मिक बाढी (Flash Flood) उर्लियो। यो अचानक आएको बाढीको वास्तविक कारण अहिलेसम्म प्रस्ट हुन सकेको छैन, जसले गर्दा सर्वसाधारण र यात्रुहरूमा एउटा गहिरो त्रासदी व्याप्त छ। नदीको यो उग्र रूपले गर्दा सिंगो देश अहिले राष्ट्रिय शोकमा डुबेको छ। हजारौँ नेपालीहरू आफ्ना प्रियजन र आफन्तलाई कतै त्रिशूलीले बगायो कि भन्ने गहिरो चिन्ता र रोदनमा छन्।
यही आकस्मिक विपत्तिका कारण पृथ्वी राजमार्गको गजुरी खण्डमा देशैभरिका सयौँ यात्रुवाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परे।
सडक ठप्प भयो, गाडीको लामो लाइन लाग्यो। बत्ती छैन। सञ्चार सम्पर्क छैन । भदौको चर्को घाममा पिउने पानी छैन । कति बेला के हुने हो भन्ने प्रस्ट नभए पनि नदीको गर्जन र त्रासका बीच साना केटाकेटी, वृद्धवृद्धा र बिरामी यात्रुहरू भोकभोकै छटपटाउन थाले।

गजुरी बजार आफैंमा व्यस्त बजार भए पनि मलेखु वा धार्के जस्तो यहाँ लहरै खाना र खाजाका ठुला होटलहरू छैनन्, जसले गर्दा अलपत्र परेका हजारौँ यात्रुलाई अचानक खानाको ठूलो संकट आइलाग्यो।ठिक यही भयानक त्रासदी र शोकका बीच गजुरीबासीले आफ्नो दुःखलाई थाती राखेर मानवताको एउटा ठूलो परिचय दिए।

आफ्नो घरको हिलो बिर्सेर परोपकारमा त्रिशूलीको त्यो आकस्मिक बाढीले किनाराका बस्ती र गजुरीका स्थानीय बासिन्दाका आफ्नै घर-आँगन पनि हिलो र गेगरले सोत्तर बनाएको छ। चारैतिर डर, अन्योल र शोकको वातावरण छ। तर, आफ्नै घरभित्र पसेको हिलो सोहोर्न र आफ्नै सुरक्षाको चिन्ता गर्न छाडेर यहाँका बासिन्दाहरू राजमार्गमा भोकै परेका अपरिचित यात्रुहरूको उद्धार र सेवामा थपिएका छन्।
“आफ्नो बासस्थानमा हिलो र गेगरले भरिँदा र त्रिशूलीको यो डरलाग्दो रूप देख्दा पनि यो विपत्तिको बेला अरूलाई सहयोग गर्नु हाम्रो धर्म हो। मौका र संकटमा नै सहयोगको वास्तविक महत्त्व हुन्छ,” गजुरी-५ का स्थानीय युवा गौतम सुवेदी भावुक हुँदै भन्छन्।

नेतृत्व र समुदायको साझा हातेमालोयो मानवीय कार्यमा गाउँपालिकाका जनप्रतिनिधिहरू आफैँ पनि अहोरात्र खटिएका छन्। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिश्रुवाल आफैँ ठुला देक्ची र कराईको अघिल्तिर बसेर अलपत्र यात्रुहरूलाई तातो भात र तरकारी पस्किइरहनुभएको छ। उहाँलाई स्थानीय युवा र अन्य गाउँवासीले निरन्तर सघाइरहेका छन्।
गजुरी-१ का वडाध्यक्ष तारा भण्डारीका अनुसार यातायात साधनको सहज व्यवस्थापन नभएसम्म र सडक नखुलेसम्म कोही पनि भोको नपरोस् भनेर गजुरीका युवाहरूको सक्रियतामा यो निःशुल्क खानाको व्यवस्था गरिएको हो।
रातको अँध्यारो र नदीको गडगडाहटको बीचमा पनि ठुला-ठूला भाँडामा सामूहिक रूपमा खाना पकाएर यात्रुहरूलाई वितरण गरिरहेको दृश्यले त्यहाँ उपस्थित प्रत्येक यात्रुको आँखा रसाएको छ।विपत्तिमा मलहम सडकमा गाडीको हर्न, त्रिशूलीको त्रास र राष्ट्रिय शोकको यो घडीका बीच गजुरीबासीले बाँडेको यो गाँस केवल भोजन मात्र होइन, संकटमा परेकाहरूका लागि ठूलो मानसिक आड भरोसा र ढाडस पनि हो।
आफ्नै घर संकटमा हुँदाहुँदै र चारैतिर त्रासदी व्याप्त हुँदा पनि “पहिले अतिथि” भन्ने भावनाका साथ गजुरीबासीले देखाएको यो निस्वार्थ सेवा र मानवतावादी कार्य साँच्चिकै अनुकरणीय र सलाम योग्य छ।
विपत्तिले बाटो भत्काए पनि र राष्ट्रलाई शोकले पिरोले पनि नेपालीको मन र सेवा भावलाई कसैले भत्काउन सक्दैन भन्ने सन्देश गजुरीको यो सामूहिक भान्छाले दिएको छ ।














