गगनसिंह थापाको दशौं कृति “हिउँ फुल”को आवरण सार्वजनिक
टीकापुर / साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको दशौँ साहित्यिक कृति ‘हिउँ फूल’ को आवरण सार्वजनिक गरिएको छ।
अगस्त २१ तारिख ( भाद्र ५ गते) परेको थापाको जन्मदिनका अवसरमा परिवारले उनलाई श्रद्धापूर्वक स्मरण गर्दै प्रकाशनको क्रममा रहेको ‘हिउँ फूल’को आवरण सार्वजनिक गरेको हो।
अछामको पाटेखेतमा जन्मिएका थापाले कर्णाली र सुदूरपश्चिमको इतिहास, भाषा, साहित्य, संस्कृति तथा जनजीवनलाई आफ्ना सिर्जनामार्फत जीवन्त बनाउँदै आएका थिए।
शिक्षक , समाजसेवी तथा साहित्यकारका रूपमा परिचित थापा सामाजिक तथा पर्यावरण संरक्षणका अभियन्ता एवं लोकतान्त्रिक आन्दोलनका संवाहकसमेत थिए। समाज र साहित्य क्षेत्रमा स्वर्गीय थापाले पुर्याएको योगदान सदैव स्मरणीय रहने उनका छोरा हिक्मत थापाले बताए।
उनले आफ्ना पिताका साहित्यिक कृतिहरूले कर्णाली र सुदूरपश्चिमको भाषा, संस्कृति, इतिहास र जनजीवनलाई पुस्तौँसम्म उजागर गरिरहने विश्वास व्यक्त गरे।
थापाका प्रकाशित साहित्यिक कृतिहरूले आफ्नो माटो, भाषा, संस्कृति र जनजीवनप्रतिको गहिरो प्रेमलाई उजागर गरेका छन्। उनका कृतिहरू साहित्यिक दृष्टिले महत्त्वपूर्ण हुनुका साथै कर्णाली र सुदूरपश्चिमको सामाजिक तथा सांस्कृतिक पहिचानलाई अभिलेखित गर्ने महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहेको जनाइएको छ।
थापाका यसअघि सोह्र सौगात,कर्णालीको छेउछाउ,पुर्खाको चिठ्ठी, मेरो मधुशाला, उज्ज्वली,मरुभूमिकि महारानी, अस्ताचलको ढोकाबाट, मेरो गाउँको खडक्या मन्त्री र महाप्रलय गरि नौ वटा पुस्तक प्रकाशित भई सकेका छन् ।
प्रकाशनको तयारीमा रहेको ‘हिउँ फूल’ थापाको दशौँ साहित्यिक कृति हो। उक्त कृति छिट्टै पाठकमाझ आउने जनाइएको छ। ७८औँ जन्मदिनको अवसरमा स्वर्गीय थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनका योगदान, साहित्यिक कृति र सिर्जनाहरू सधैँ स्मरणीय तथा अमर रहने विश्वास व्यक्त गरिएको छ ।













