समुद्री मार्ग हुँदै अवैध रुपमा अमेरिका प्रवेस गर्ने खोज्ने भारतीय सहित ३७ जना पक्राउ
सान हुआन, पोर्तोरिको / समुद्री मार्ग हुँदै अवैध रुपमा अमेरिका प्रवेस गर्न खोज्ने भारतीय सहित ३७ जना पक्राउ परेका छन् ।
अमेरिकी सीमा सुरक्षा निकाय यू.एस. कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार गत सोमबार सबेरै, पोर्तो रिको टापुका दुई फरक-फरक छेउमा भइरहेका दुईवटा छुट्टाछुट्टै सामुद्रिक तस्करीका प्रयासहरूलाई रोक्दा यो सफलता मिलेको हो ।
सीबीसीको एक परिचालन अङ्ग ‘एयर एण्ड मरिन अपरेसन’ (एएमओ ) र अमेरिकी बोर्डर पेट्रोलका अधिकारीहरुले स्थानीय कानून प्रवर्तन साझेदारहरूसँग मिलेर सो तस्करीको प्रयास रोकिएको हो ।
‘यू एस भर्जिन आइल्याण्ड्सबाट कुलेब्रिटा टापु तर्फ भइरहेको तस्करीको प्रयासलाई असफल पार्दै डोमिनिकन गणतन्त्र, भारत, र इक्वेडरका १० जना विदेशी नागरिकका साथै एक जना अमेरिकी नागरिकलाई पक्राउ परे ।’ विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी आप्रवासन कानूनको उल्लङ्घन गरी तस्करी गरिएका ती आप्रवासीहरू र उक्त डुङ्गा चालकलाई पक्राउ गरी थप कानुनी प्रक्रिया र देश निकालाका लागि बोर्डर पेट्रोलकहाँ पठाइएको छ।’
क्यारिबियन एयर एण्ड मरिन ब्रान्चका निर्देशक क्रिस्टोफर हन्टरले यी अपरेसनहरूले क्यारिबियन क्षेत्रलाई अवैध सामुद्रिक गतिविधिबाट जोगाउने प्रतिबद्धतालाई देखाएको बताए ।
यस्तै पश्चिमी तट रावे सेक्टरमा खटिएका बोर्डर पेट्रोल एजेन्टहरूले घरेलु प्रकृतिको अस्थायी डुङ्गा किनारमा ओर्लिएपछि थप आप्रवासीहरूलाई नियन्त्रणमा लिएका थिए।
उनीहरू उज्बेकिस्तान, ताजिकिस्तान, डोमिनिकन गणतन्त्र र हाइटी जस्ता देशका थप व्यक्तिहरू सहित कुल २७ जना भएको जनाइएको छ ।















