यूएससीआइएसमा अन्तर्वार्ता दिन गएका दुई भारतीय दाजुभाइ पक्राउ
सान होजे, क्यालिफोर्निया / अमेरिकाको क्यालिफोर्नियामा यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआइएस) मा कानुनी प्रक्रियाका लागि अन्तर्वार्ता दिन गएका दुई भारतीय दाजुभाइ नै अन्तर्वार्ता कक्षबाटै पक्राउ परेका छन्।
युएससीआइएसको सामाजिक सञ्जालमा मंगलवार सार्वजनिक विवरण अनुसार क्यालिफोर्नियाको सान होजेमा बाट उनीहरू पक्राउ परेका हुन्।
‘हिरासतमा: भारतका दुई दाजुभाइ—जसमध्ये एक जनामाथि कयौँ गम्भीर बन्दुक सम्बन्धी मुद्दाहरू र लापरबाहीपूर्ण सवारी हाँकेको अभियोगहरू छन्, र अर्का व्यक्तिमाथि पहिले नै बन्दुक सम्बन्धी अपराध र ठूलो सवारी साधन चोरीको गिरोह मा संलग्न भएको आरोपमा पक्राउ परेको पूर्व रेकर्ड छ।’ युएससीआइएसको सूचनामा भनिएको छ ।
पक्राउ परेका दाजु भाइको नाम भने सार्वजनिक गरिएको छैन ।
अन्तरवार्ताकै क्रममा उनीहरुको पृष्ठभूमि जाँच गर्दा दाजुभाइकै गम्भीर आपराधिक रेकर्ड भेटिए पछि यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले पक्राउ गरेको जनाइएको छ ।
दुई दाजुभाइ सान होजेस्थित यूएसीआइएसको क्षेत्रीय कार्यालयमा ‘रिफ्युजी / असाइली फ्यामिली पिटिसन’ का लागि डाकिएको नियमित अन्तर्वार्तामा सहभागी हुन पुगेका थिए।
यो निवेदन अमेरिकामा वैध रूपमा बसिरहेका व्यक्तिले आफ्ना परिवारका सदस्यलाई अमेरिकामै राख्न वा ल्याउनका लागि दिइने कानुनी प्रक्रिया हो।
तर, अन्तर्वार्ता लिने टोलीले उनीहरूको कागजपत्र र बायोमेट्रिक्सको गम्भीरतापूर्वक जाँच गर्दा दुवै दाजुभाइ अमेरिकामा विभिन्न गम्भीर अपराधमा संलग्न रहेको र कानुनी नजरबाट उम्किरहेको फेला पर्यो। उनीहरू सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा हुनसक्ने देखिएपछि यूएससीआइएसले तत्कालै आइसका एजेन्टहरूलाई बोलाएर अन्तर्वार्ता कक्षबाटै पक्राउ गराएको थियो।
दाजुभाइको गम्भीर आपराधिक रेकर्ड
अध्यागमन अधिकारीहरूका अनुसार पक्राउ परेका दुवै भारतीय नागरिकहरूको पृष्ठभूमि निकै पुराना र गम्भीर आपराधिक मुद्दाहरूले भरिएको छ।
उनीमाथि गैरकानुनी रूपमा हतियार राखेको तथा चलाएको कयौँ गम्भीर बन्दुक सम्बन्धी मुद्दाहरू दर्ता छन्। यसका साथै उनीमाथि सडकमा अत्यन्तै लापरबाहीपूर्वक सवारी साधन कुदाएर मानिसको ज्यान जोखिममा पारेको अभियोग समेत रहेको छ।
यस्तै उनी पनि हतियार सम्बन्धी अपराधमा पहिले नै संलग्न भइसकेका व्यक्ति हुन्। यसका अतिरिक्त, अमेरिकामा सञ्चालित एउटा ठूलो सवारी साधन चोरी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा उनी यसअघि पनि पक्राउ परिसकेका थिए।
अबको कानुनी प्रक्रिया र देश निकालाको सम्भावना
यूएससीआइएसले आफ्नो आधिकारिक सञ्चार माध्यममार्फत घटनाको पुष्टि गर्दै “खतराहरूको पहिचान गर्ने, आपसी समन्वयमा कदम चाल्ने र समुदायलाई सुरक्षित राख्ने” आफ्नो नीति अन्तर्गत यो कारबाही गरिएको जनाएको छ।
हाल आइसको संघीय हिरासतमा रहेका यी दुवै दाजुभाइमाथि अब देश निकाला गर्ने प्रक्रिया चलाइनेछ।
अमेरिकी कानुन अनुसार गम्भीर आपराधिक रेकर्ड भएका गैर-नागरिकहरूलाई शरणार्थी वा अन्य कुनै पनि अध्यागमन सुविधा दिन मिल्दैन। त्यसैले अध्यागमन अदालतको सुनुवाइपछि उनीहरूलाई भविष्यमा अमेरिकाबाट निष्कासित गरी भारत फिर्ता पठाइने प्रबल सम्भावना छ।
















