नेपाली जनसम्पर्क समिति अधिवेशनमा फेरि खड्को? पैसाले ल्याउला अड्को!
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको १२ वर्षपछि हुन लागेको अधिवेशनमा फेरि शङ्काको बादल मडारिएको छ।
भलै बिहीबार राति संयोजक धनञ्जय नरसिंह केसीले आफ्नो निजी सामाजिक सञ्जालमा पोस्टर पोस्ट गर्दै ‘महापर्वमा लागौँ है साथी हो’ लेखेका छन्।
गुपचुप र किस्ताबन्दीमा अधिवेशनका गतिविधि सार्वजनिक गर्दै आएका केसीले अधिवेशन स्थल बल्ल तोकेका छन्। अगस्ट १४ देखि १६ सम्म डिसी मेट्रोमा अधिवेशन हुने यसअगाडि सार्वजनिक गरिएको थियो, अब भर्जिनियामा नै हुने भनिएको छ।
खासमा सन् २०१७ मा नै नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुनपर्ने थियो। सन् २०१४ मा टेक्सासमा भएको अधिवेशनबाट सभापतिमा निर्वाचित आनन्द विष्टले पटक-पटक अधिवेशन गर्ने भन्दै आए पनि गरेनन्।
विष्टले नेपालको पछिल्लो संसदीय चुनावमा टिकट पाएपछि, विष्ट समितिकै वरिष्ठ उपसभापति धनञ्जय नरसिंह केसीले ‘संयोजक’ को जिम्मेवारी पाएका हुन्।
केसीले आफूले जिम्मेवारी पाएपछि अधिवेशनको मिति घोषणा गरे र बिहीबार राति कार्यक्रम हुने होटलसमेत सार्वजनिक गरेका छन्।
तर क्यानडामा लागेको डढेलोको कारण बिहीबार र शुक्रबार पेन्सिल्भेनियाको आकाशमा तुवाँलो र धुवाँ मडारिएजस्तै जनसम्पर्क समितिको अधिवेशनमा पनि फेरि खड्को आउने आकलन गरिएको छ। त्यो अड्को अरू केही नभएर पैसाका कारण हो।
नेपाली कांग्रेसको विधानअनुसार नेपाली जनसम्पर्क समितिका सदस्य शुल्कको ५० प्रतिशत पार्टी केन्द्रले लैजान्छ। नेपाली जनसम्पर्क समिति अमेरिकाले गत डिसेम्बरमा सम्पन्न आफ्ना च्याप्टरहरूको अधिवेशनमा चार हजार सदस्य बनेको जनाएको थियो।
त्यो बेला प्रतिसदस्य ३० अमेरिकी डलर सदस्य शुल्क लिएको थियो। त्यसको अर्थ अब हरेक सदस्यको १५ डलर काठमाडौँ पठाउनुपर्ने हुन्छ। चार हजार जनाको १५ डलरका हिसाबले ६० हजार अमेरिकी डलर नेपाल पठाउनुपर्ने हुन्छ। यो भनेको नेपाली रकम करिब ९२ लाख रुपैयाँ हुन्छ। स्रोतका अनुसार पार्टीले त्यो पैसा नपाएसम्म अधिवेशनका लागि मान्यता नदिने जनाएको छ।
कथा अझै रमाइलो छ। त्यो पैसा रहेको बैंक खाताको स्वामित्व निवर्तमान सभापति आनन्द विष्टको नाममा छ।
“मैले जुलाई ७ तारिखमै बैठक गरेर, सबै बुझबुझारथ गरेको हुँ। बैंक खातामा नामसारी गर्न दुवै जना भौतिक रूपमा बैंक जानुपर्ने हुन्छ,” निवर्तमान सभापति विष्टले समाज टाइम्ससँग भने, “खै किन हो धनञ्जयजी अहिलेसम्म आउनुभएको छैन, बैंकमा हस्ताक्षर परिवर्तन नगरी कारोबार हुँदैन।”
विष्टले आफूले पदभार हस्तान्तरण गरिसकेकाले अब आर्थिक कारोबार गर्न नसक्ने बताए।
“अब त मैले पैसा नेपाल पठाउनै मिल्दैन, म त निवर्तमान भइसकेँ, अब कसरी कारोबार गर्न मिल्छ?” विष्टले प्रतिप्रश्न गरे।
बैंक खाताको जिम्मा नै नलिई संयोजक केसीले अधिवेशनको खर्च कसरी व्यवस्थापन गर्दै छन् र पार्टीलाई कुन रकम पठाउँदै छन् भन्ने प्रश्न उब्जिएको छ।
यही प्रश्नको जवाफ माग्न समाज टाइम्सले केसीलाई पटक-पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन मानेका छैनन्। कुराकानीको विषय खुलाएर गरिएको टेक्स्टमा उनले ‘एकछिन है’ भन्ने जवाफ पठाए, तर फेरि २४ घण्टा नाघ्दा पनि सम्पर्कमा आएनन्।
केसी निकटहरूका अनुसार नेपाली जनसम्पर्क समितिको आर्थिक कारोबारबारे अमेरिकी अदालतमा मुद्दा विचाराधीन रहेका कारण उनी वित्तीय जिम्मेवारी लिन चाहँदैनन्। बरु केसी नेपाल पैसा पठाउने वैकल्पिक स्रोत र जुक्ति खोजिरहेका छन्।
कांग्रेसको महाधिवेशनमा १४ जना प्रतिनिधि जान पाउने व्यवस्था छ। “केसीले ती १४ जनाको पहिचान गर्ने र तिनीहरूबाटै पार्टीलाई पठाउनुपर्ने लेभीको बन्दोबस्त गर्न खोजेको देखिन्छ,” समाज टाइम्सको सम्पर्कमा आएका केसी निकट एक व्यक्तिले भने।
तर, यो विषयलाई समाज टाइम्सले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
यद्यपि यसअगाडि यस्तो नभएको पनि होइन। अमेरिकाबाट नेपाल सोझै पैसा पठाउँदा धेरै कानुनी अड्चनहरू छन्। आइपर्ने कानुनी झन्झटबाट मुक्त हुन यसअगाडि व्यक्तिगत कारोबार गरिएको भन्दै आलोचना पनि भएको थियो, र त्यसै विषयमा अदालतमा मुद्दा परेको जनाइएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ सङ्गठन भए पनि अमेरिकी कानुनमा ५०१(सी) अन्तर्गत गैरनाफामूलक संस्थाको रूपमा दर्ता छ। गैरनाफामूलक संस्थाले न त आफैँले राजनीतिक गतिविधि गर्न पाउँछ, न त नेपालको राजनीतिक दलसँग सोझै आर्थिक कारोबार नै गर्न मिल्छ।
नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशनका लागि मिडिया संयोजक रामजी पन्तले पार्टीलाई लेभी रकम नपठाई अधिवेशन हुन्छ भन्नेमा आफू पनि ढुक्क नरहेको बताए।
“लेभी नपठाई त पार्टी प्रतिनिधि नै आउँदैनन् होला,” समाज टाइम्ससँग पन्तले भने।
उनले आफ्नो जिम्मेवारी प्रचार-प्रसार मात्र भएको भन्दै आर्थिक गतिविधिका बारेमा यकिनसाथ भन्न नसकिने बताए।
“त्यो प्रश्न त तपाईंले स्थानीय आयोजक समिति र केन्द्रीय संयोजकलाई नै सोध्दा प्रष्ट जवाफ पाइएला,” पन्तले थपे।

















