क्यानडामा डढेलो, पेन्सिल्भेनियामा पनि असर, हावा दूषित, घर भित्र रहन अपिल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / तपाई अमेरिकाको सेन्टर पेन्सिल्भेनिया क्षेत्रमा बस्नु भएको छ भने बिहीबार देखि केही फरक अनुभूति पक्कै गर्नु भएको होला । अझ शुक्रवार त त झट्ट हेर्दा ग्रहण लागेको जस्तो पनि देखिएको छ । आकाश धमिलो, सेतो-खैरो वा हल्का सुन्तला रङ्गको देखिएको छ ।
पेन्सिलभेनिया वातावरण संरक्षण विभाग (डिपार्टमेन्ट अफ इन्भाइरन्मेन्टल प्रोटेक्सन-डीइपी) का अनुसार यो क्षेत्रमा देखिएको बाक्लो धुवाँ र तुवाँलो क्यानडा र अमेरिकाको मिनेसोटामा लागिरहेको भीषण डढेलोको कारणले गर्दा हो ।
त्यहाँको डढेलोबाट निस्किएको हानिकारक धुवाँ वायुमण्डलको उच्च चाप प्रणालीका कारण जमिनको सतह नजिकै थुप्रिएर बगेकाले अहिले पुरै पेन्सिल्भेनिया राज्य नै तुवाँलोले ढाकेको छ।
डीइपीले मौसम र हावाको अवस्थाबारे चिन्ता व्यक्त गर्दै वायु प्रदूषणको चेतावनी दिएका छन् । डीइपीले शुक्रवारका लागि ‘कोड पर्पल’ वायु गुणस्तर चेतावनी जारी गरेको छ । यसको अर्थ यहाँको हावा सबैका लागि अत्यधिक हानिकारक र अस्वस्थकर छ।
‘क्यानडा र मिनेसोटाको डढेलोबाट निस्किएको धुवाँ शुक्रबार पेन्सिलभेनियाभरि फैलिनेछ, जसले गर्दा हावामा पीएम २.५ को मात्रा बढेर ‘कोड पर्पल’ (अत्यन्तै अस्वस्थकर) अवस्था सिर्जना हुनेछ।’ डीइपीको चेतावनी सन्देशमा भनिएको छ ।
डीइपीले बासिन्दाहरूलाई आफ्नो क्षेत्रको वर्तमान अवस्था एयर नाउ (AirNow) वेबसाइट हेर्न जाँच गर्न अनुरोध गरेको छ ।
‘कुनै पनि समयमा तपाईँको स्थानको आधारमा स्थानीय अवस्था योभन्दा बढी गम्भीर (‘कोड मरुन’ – घातक) वा कम गम्भीर (‘कोड रेड’ वा ‘कोड अक्टोबर/ओरेन्ज’) हुन सक्छ। बासिन्दाहरूले त्यस समयको मौसमी अवस्था हेरेर मात्र आफ्ना बाहिरी गतिविधिहरू सम्बन्धी निर्णयहरू लिनुपर्छ।’ डीइपीको सन्देशमा भनिएको छ ।
डीइपीले ‘कोड पर्पल’ वायु गुणस्तर सतर्कता लागू भएको समयमा सबै बासिन्दाहरूले लामो समयसम्म गरिने वा कडा परिश्रम पर्ने बाहिरी गतिविधिहरूबाट बच्नु पर्ने भनेको छ। साथै बालबालिका, वृद्ध वृद्धा र श्वासप्रश्वास सम्बन्धी रोग भएकाहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।
‘सबै बासिन्दाहरूलाई आफ्ना गतिविधिहरू घरभित्रै सार्न प्रोत्साहित गरिन्छ।’ सन्देशमा भनिएको छ, ‘सबै नागरिकहरू, विशेष गरी बालबालिका, वृद्ध वृद्धा, गर्भवती महिला र दम वा मुटुको रोग भएका बिरामीहरूलाई बाहिर निस्कने वा शारीरिक श्रम गर्ने काम पूर्ण रूपमा बन्द गर्न र घरभित्रै रहन आग्रह गरिएको छ ।’
यस्तै बाहिरको धुवाँ घरभित्र नपसोस् भन्नका लागि घरका झ्याल र ढोकाहरू बन्द गर्ने, सम्भव भएसम्म एअर प्युरिफायरको प्रयोग गर्न र यदि कुनै जरुरी कामले बाहिर निस्कनै परेमा सामान्य कपडाको मास्कभन्दा एन ९५ वा के एन 95 जस्ता राम्रो फिल्टर भएका मास्कको प्रयोग आग्रह गरिएको छ ।
मौसम पूर्वानुमानका अनुसार शुक्रवार दिनभर यो धुवाँ र गर्मी कायम रहनेछ। तर, भोलि शनिबार आउने वर्षा र तीव्र हावाहुरीसहितको मौसम परिवर्तनले गर्दा यो धुवाँ बिस्तारै हट्ने र आइतबारसम्ममा मौसम सफा हुने अनुमान गरिएको छ।

















