पेन्सिल्भेनिया ह्यारिसबर्गमा मनाइयो भानु जयन्ती
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यरिसबर्गमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३ औं जयन्ती मनाइएको छ ।
त्रिवेणी साहित्य मञ्चको आयोजनामा भानु जयन्ती मनाइएको हो । हिमालयन तेक्वान्दो ह्यारिसबर्गको हलमा आयोजित कार्यक्रममा आदि कवि भानुभक्तका बारेमा चर्चा गर्नुका साथै कविता तथा गजल वाचन गरिएको थियो ।
यस्तै बालिकाहरूले नृत्य प्रस्तुत गरेका थिए ।
आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका अत्यन्तै सम्मानित र महत्त्वपूर्ण व्यक्तित्व हुन् । उनको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।
भानुभक्तको सबैभन्दा ठूलो र ऐतिहासिक योगदान संस्कृतमा रहेको ‘अध्यात्म रामायण’ लाई सरल, सरस र जनजिब्रोको नेपाली भाषामा अनुवाद गर्नु हो।
घाँसी सँगको भेट पछि जीवनमा नयाँ मोड पाएका उनले रामायणका साथै ‘भक्तमाला’, ‘प्रश्नउत्तर’, ‘वधूशिक्षा’ जस्ता चर्चित कृतिहरू नेपाली साहित्यलाई दिएका छन् ।
भानुभक्त एक सम्पन्न परिवारका सदस्य थिए । यात्रामा क्रममा उनले एक जना व्यक्तिलाई घाँस काट्दै गरेको भेटे । ती व्यक्तिले घाँस बेचेर आफूले कुवा खनाउने बताएका थिए । त्यस पछि भानुभक्तमा अरूका लागि केही गर्ने प्रेरणा जागेकोले नै रामायण नेपालीमा उल्था गरेका थिए ।
नेपाली साहित्यका साधकको निधन वि.सं. १९२५ असोजमा भएको थियो। नेपाली भाषा साहित्यको जग बसालेकाले उनलाई ‘आदिकवि’ को उपाधि दिइएको हो।
त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा व्यवसायी नारायण पोखरेल प्रमुख अतिथि थिए ।
यस्तै हिन्दु धर्म तथा संस्कृति सङ्गठन (ओएचआरसी) अन्तरगत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिका बस्नेत विषेश अतिथि रहेको कार्यक्रममा साहित्यकारहरू गण्डकी पुत्र, त्रिविक्रम न्यौपाने, दिपेश चापागाईँ लगायतले रचना सुनाएका थिए ।
कार्यक्रमको प्रायोजक फक्लन हण्डाका विक्रेता खगेन घिमिरे, हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा प्रमुख प्रशिक्षक नकुल शर्मा, हिमालयन बियर एण्ड बेबरेजकी लिलावती भट्टराई अधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यस्तै दन्त चिकित्सक डा. अनुज घिमिरे र साहित्य कला संगम ल्यानक्यास्टरका अध्यक्ष दिपेश चापागाईँलाई ‘प्रगतिशील युवा सम्मान’ प्रदान गरिएको थियो ।
मञ्चका अध्यक्ष माइलोका अनुसार दिपेशलाई साहित्य धर्म संस्कृति र सामाजिक अभियन्ताको रुपमा सम्मान प्रदान गरिएको हो । यस्तै डा. अनुज ऊर्जाशील युवा भएकाले सम्मान गरिएको हो ।
यसै बीच कार्यक्रमको अन्तमा अध्यक्ष माइलोले आफ्नो समिति विगठन भएको घोषणा गरेका छन् । उनका अनुसार अबको एक महिना भित्रमा नयाँ समिति बनाइने छ ।

















