इङ्गल्यान्ड सेमिफाइनल पुग्ने प्रमुख दाबेदार, तर ठुलो अन्तर छैन : नर्वेका मुख्य प्रशिक्षक सोलबाकेन
कार्लाल, पेन्सिलभेनिया / नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्गल्यान्डलाई जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल पुग्ने प्रमुख दाबेदार टिमको रूपमा चित्रण गरेका छन्।
यद्यपि उनले इङ्गल्यान्डलाई अत्यधिक बलियो टोली भने नमानेको बताएका छन्। अन्तराष्ट्रिय संचारमाध्यम ‘बीबीसी स्पोर्ट’सँगको कुराकानीमा सोलबाकेनले भने, ‘इङ्गल्यान्ड फेभरेट टोली हो, तर उनीहरू धेरै ठुलो अन्तरले फेभरेट भने होइनन्।’
मायामीमा शनिवार हुने क्वार्टर फाइनलमा नर्वेले इङ्गल्यान्डको सामना गर्नेछ। पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई अन्तिम १६ मा पराजित गर्दै नर्वे क्वार्टर फाइनलमा पुगेको थियो ।
खेलअघिको पत्रकार सम्मेलनमा सोलबाकेनले इङ्गल्यान्डमाथि दबाब बढी रहेको बताए। उनले भने, ‘मलाई लाग्छ इङ्गल्यान्डमाथि हामीभन्दा बढी दबाब छ। तर हामी पनि आफ्नो प्रदर्शनप्रति जिम्मेवार छौँ। खेल सुरु भएपछि खेलाडीहरूले दबाबभन्दा खेलमै ध्यान केन्द्रित गर्छन् ।’
नर्वेको टोलीमा प्रिमियर लिगका चर्चित खेलाडीहरूको बाहुल्यता छ। कप्तान मार्टिन ओडेगार्ड र स्ट्राइकर एर्लिङ हालान्ड टोलीका मुख्य आकर्षण हुन्। सोलबाकेनले ब्राजिल र इङ्गल्यान्डलाई विश्व फुटबलका ऐतिहासिक रूपमा सबैभन्दा बलिया राष्ट्रमध्येका दुई टोलीको रूपमा उल्लेख गरे।
हालान्डले यस विश्वकपमा पाँच खेलमा सात गोल गर्दै नर्वेको ऐतिहासिक यात्रामा महत्त्वपूर्ण भूमिका खेलेका छन्। सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको नर्वे पहिलो पटक क्वार्टर फाइनलसम्म पुगेको हो। टोलीले प्रतियोगितामा इराक, सेनेगल, आइभरी कोस्ट र ब्राजिललाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
पत्रकार सम्मेलनमा हालान्ड र इङ्गल्यान्डका कप्तान ह्यारी केनबीचको प्रतिस्पर्धाबारे प्रश्न सोधिँदा सोलबाकेनले यसलाई दुई खेलाडीबिचको होइन, दुई राष्ट्रबिचको प्रतिस्पर्धा भएको बताए।
‘यो नर्वेविरुद्ध इङ्गल्यान्डको खेल हो, हालान्डविरुद्ध केनको होइन । केन इङ्गल्यान्डका प्रमुख म्याच विनर हुन् भने हालान्ड हाम्रो सबैभन्दा ठुलो म्याच विनर हुन्। तर फुटबल केवल एक खेलाडीमा निर्भर हुँदैन। हालान्डलाई पनि गोल गर्न टोलीका अन्य खेलाडीको सहयोग आवश्यक पर्छ।’, उनले बताए ।
सोलबाकेनले प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्गल्यान्डको प्रशंसा गर्दै मेक्सिकोविरुद्धको खेललाई टोलीको उत्कृष्ट प्रदर्शनको रूपमा वर्णन गरे। उनले जुड बेलिङ्घम, ह्यारी केन, डेक्लान राइस र इलियट एन्डरसनको सन्तुलित खेलले इङ्गल्यान्डलाई निकै बलियो बनाएको बताए।
ब्राजिलविरुद्ध ६६ दशमलब ४ प्रतिशत बल नियन्त्रण गरेको नर्वेले इङ्गल्यान्डविरुद्ध त्यस्तो सम्भावना नरहेको पनि सोलबाकेनले स्वीकार गरे।
‘हामीले धेरै कठिन प्रशिक्षण गरेका छैनौँ। गर्मी मौसमका कारण खेलाडीलाई ताजा राख्न हल्का अभ्यास मात्र गरेका छौँ। अहिले हाम्रो मुख्य लक्ष्य खेलका लागि पूर्ण रूपमा तयार हुनु हो’, उनले बताए।
विश्वकपमा नर्वेको ऐतिहासिक यात्राले सम्पूर्ण देशलाई एकताबद्ध बनाएको सोलबाकेनको भनाइ छ। ‘नर्वे शनिवारको खेलको प्रतीक्षामा छ। यो हाम्रो फुटबल इतिहासकै सबैभन्दा महत्त्वपूर्ण खेलमध्ये एक हो’,उनले भने।
पत्रकार सम्मेलनको अन्त्यमा सोलबाकेनले आफ्ना बाल्यकालका फुटबल आदर्श तथा इङ्गल्यान्डका पूर्वकप्तान केभिन कीगनप्रति शुभकामना पनि व्यक्त गरे। स्टेज–४ क्यान्सरसँग सङ्घर्ष गरिरहेका कीगनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले बाल्यकालमा आफू लिभरपुल र कीगनका ठुलो समर्थक रहेको स्मरण गरे।
तस्विर सौजन्य : फिफा

















