फिफा विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, उपाधि सपना जीवित
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / फ्रान्स जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बोस्टनमा बिहीवार भएको पहिलो क्वाटर फाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम ४ को स्थान तय गरेको हो ।
यस जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। खेलमा फ्रान्सले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै बलमाथि नियन्त्रण कायम राख्यो भने मोरक्कोले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा फ्रान्सका कप्तान केलियन एमबाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै शानदार गोल गरेपछि टोलीले अग्रता लिएको थियो।
त्यसको केही मिनेटपछि ओस्मान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे। एमबाप्पेको गोलले टोलीलाई थप आत्मविश्वास दिलाएको थियो । डेम्बेलेको गोलले मोरक्कोको पुनरागमनको सम्भावना समाप्त पारेको थियो ।

मोरक्कोले खेलभर सङ्घर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्ति तोड्न सकेन। फ्रान्सका डिफेन्डर र गोलरक्षकले अनुशासित प्रदर्शन गर्दै मोरक्कोलाई प्रभावकारी आक्रमण गर्नबाट रोकेका थिए। दोस्रो हाफको अन्तिमतिर मोरक्कोले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न असफल भयो।
यो जितसँगै फ्रान्स अब सेमिफाइनलमा स्पेन र बेल्जियमबिच हुने क्वार्टर फाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
फ्रान्स विश्वकपको उपाधि जित्ने प्रमुख दाबेदार टोलीमध्ये एक मानिएको छ । अनुभवी तथा युवा खेलाडीको सन्तुलित संयोजन, बलियो मिडफिल्ड र प्रभावशाली आक्रमणका कारण टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
अर्कोतर्फ, मोरक्कोले पनि प्रतियोगितामा उल्लेखनीय यात्रा तय गर्दै विश्व फुटबलमा आफ्नो क्षमता पुनः प्रमाणित गरेको छ। यद्यपि, क्वार्टर फाइनलमा फ्रान्सजस्तो बलियो टोलीविरुद्ध उनीहरूको यात्रा समाप्त भएको छ।
अब फ्रान्सको लक्ष्य सेमिफाइनल जित्दै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ। फुटबल समर्थकहरूले फ्रान्सको आगामी खेललाई निकै चासोका साथ प्रतीक्षा गरिरहेका छन् । जहाँ टोलीले अर्को जित निकाल्दै विश्वकप उपाधितर्फ थप एक कदम अघि बढ्ने प्रयास गर्नेछ।
तस्विर सौजन्य : फिफा

















