मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात, विश्वकप इतिहासमा नयाँ कीर्तिमान
गोविन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / लियोनेल मेस्सीको ह्याट्रिकको मदतले अर्जेन्टिनाले जारी विश्वकप फुटबलमा शानदार विजयी सुरुवात गरेको छ ।
अर्जेन्टिनाले मङ्गलवार राति भएको आफ्नो समूहको पहिलो खेलमा अल्जेरियालाई ३-० को गोलले पराजित ग¥यो । अर्जेन्टिनाको जितमा मेस्सीले खेलेको १७ औँ , ६० औँ र ७६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । साथै, मेस्सी विश्वकप इतिहासमा संयुक्त सर्वाधिक गोलकर्ता समेत बन्न सफल भए ।
राष्ट्रिय टोलीका लागि आफ्नो २००औँ खेल खेल्दै मेस्सीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरेका हुन्। उनले खेलको १७ औँ मिनेटमा सुन्दर घुमाउरो प्रहार गर्दै पहिलो गोल गरे।
३८ वर्षीय मेस्सीले इन्टर मियामीका सहकर्मी रोड्रिगो डे पाउलबाट बल प्राप्त गरी फ्रान्सका महान खेलाडी जिनेदिन जिदानका छोरा लुका जिदानलाई छक्याउँदै उत्कृष्ट गोल गरे। यो उनको २७औँ विश्वकप खेल थियो।
खेल निकै रोमाञ्चक रूपमा सुरु भएको थियो। मेस्सीको एक गोल खेलको सुरुवातमै अफसाइडका कारण रद्द गरिएको थियो । त्यसको तीन मिनेटपछि अल्जेरियाको एक गोल पनि अमान्य घोषित गरिएको थियो।
पहिलो हाफको बिचतिर अल्जेरियाका आइसा मान्डीमाथि गरेको खतरनाक ट्याकलका कारण मेस्सी कारबाहीबाट जोगिएका थिए। अर्जेन्टिनाको दोस्रो गोल खेलको ६०औँ मिनेटमा भएको थियो । मेस्सीले लुका जिदानको गल्तीको फाइदा उठाउँदै नजिकबाट गोल गरे।
त्यसपछि ७६औँ मिनेटमा निकोलस गोन्जालेजबाट बल प्राप्त गरी पेनाल्टी क्षेत्रको बाहिरबाट शक्तिशाली प्रहार गर्दै उनले आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे।
यस उपलब्धिसँगै आठ पटकका बालोन डीुओर विजेता मेस्सीले विश्वकप फाइनल चरणमा आफ्नो गोल सङ्ख्या १६ पुर्याए र जर्मनीका मिरोस्लाभ क्लोजेसँग बराबरी गर्दै प्रतियोगिताको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बने।
अर्जेन्टिनाले क्यान्सस सिटी स्टेडियममा जित निकाल्न निकै मेहनत गर्नुपरेको थियो। अर्जेन्टिना लगातार दुई पटक विश्वकप जित्ने इतिहास बनाउने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छन्।
साविक विजेताको रूपमा विश्वकपको पहिलो खेल जितेको यो अर्जेन्टिनाको पहिलो अवसर हो। यसअघि सन् १९८२ र १९९० मा उनीहरूले उद्घाटन खेल हारेका थिए। कतारमा सन् २०२२ को विश्वकप जितेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिनुको कारण यदि कसैले सोधेको थियो भने, उनले यस खेलमार्फत त्यसको बलियो जवाफ दिए।
आफ्नो ३९औँ जन्मदिन आउन एक हप्ता बाँकी रहँदा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै पुराना दिनहरू सम्झाए । उनले आफ्नो लामो समयका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान पनि उछिनेका छन् ।
कतारमा अर्जेन्टिनालाई विश्व फुटबलको शिखरमा पुर्याएपछि मेस्सीले अन्तर्राष्ट्रिय करियर जारी राख्ने निर्णयबारे धेरै चर्चा भएको थियो। विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा क्लोजेसँग बराबरी गरेपछि अर्जेन्टिनाको अर्को खेलमा मेस्सीले यो कीर्तिमान एक्लैले आफ्नो नाममा पार्ने सम्भावना निकै बलियो देखिएको छ ।
अब अर्जेन्टिनाले आगामी २२ जुनमा डालास स्टेडियममा अस्ट्रियासँग आफ्नो समूहको दोस्रो खेल खेल्नेछ । त्यस्तै मङ्गलवार नै भएको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३-१ ले तथा नर्वेले इराकलाई ४-१ गोलले पराजित गरेको थियो ।
तस्विर सौजन्य : फिफा

















