बुआलेम खौखी बने नायक, कतारले विश्वकपमा रच्यो नयाँ इतिहास
कार्लाल, पेन्सिलभेनिया / कतारले अतिरिक्त समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेलेर जारी विश्वकप फुटबलको फाइनल चरणमा आफ्नो इतिहासकै पहिलो अङ्क हासिल गरेको छ।
खेलको ९४औँ मिनेटमा होमाम एल अमिनको क्रसमा बुआलेम खौखीले हेडमार्फत गोल गरेपछि कतारी टोली र समर्थकहरू उत्साहले झुमेका थिए। प्रशिक्षक जुलेन लोपेटेगुईको टोलीका लागि यो ऐतिहासिक क्षण बनेको थियो।

खेल अवधिभर स्विट्जरल्यान्डले आफ्नो दबाब कायम राखेको थियो । पहिलो हाफमा ब्रिल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रोयलरलाई फाउल गरेपछि पेनाल्टी दिइएको थियो । यद्यपि टेलिभिजन रिप्लेमा फ्रोयलर निर्माण चरणमा सामान्य अफसाइडमा देखिएका थिए।
स्विट्जरल्यान्डले समूह ‘बी’ को आगामी खेलमा बोस्निया–हर्जेगोभिना र क्यानडाविरुद्ध खेल खेल्नेछ ।
कतारको ऐतिहासिक उपलब्धि
चार वर्षअघि आयोजक राष्ट्रका रूपमा कतारले विश्वकपमा धेरै नचाहिएका कीर्तिमानहरू बनाएको थियो। उनीहरू उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र बनेका थिए। साथै, दुई खेलमै प्रतियोगिताबाट बाहिरिने र समूह चरणका सबै तीन खेल हार्ने पहिलो आयोजक राष्ट्र समेत बनेका थिए।
त्यो प्रतियोगितामा कतारले केवल एक गोल गरेको थियो । त्यस्तै सात गोल खाएको थियो । जसका कारण उनीहरू सांख्यिकीय रूपमा प्रतियोगिताकै कमजोर टोली बनेका थिए।

शनिवारको खेलमा पनि लामो समयसम्म त्यस्तै अवस्था देखिएको थियो। गोलतर्फका प्रहार, बल नियन्त्रण, कर्नर र अपेक्षित गोल लगायतका लगभग सबै तथ्याङ्कले स्विट्जरल्यान्डको वर्चस्व देखाएका थिए। फुटबलको सबै अनुमानलाई गलत साबित गर्दै खौखीको अन्तिम क्षणको हेडरले कतारलाई अमूल्य अङ्क दिलाउन सफल भए ।
खेलपछि कतारका स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईले भनेका छन्, ‘म टोलीप्रति अत्यन्त गर्व महसुस गर्छु। मैले खेलाडीहरूलाई भनेको थिएँ कि यदि हामीले गोल नगरेर बराबरी गर्न नसकेको भए पनि उनीहरूले देखाएको मानसिकता र अनुशासनका कारण म गर्व गर्ने थिएँ।’
‘सौभाग्यवश हामीले गोल गर्यौँ र इतिहास रच्यौँ। केही क्षणमा भाग्यले साथ दियो, तर जीवन र खेलकुदमा भाग्य पाउन विश्वास र मेहनत आवश्यक हुन्छ। त्यसैले हामी खेलाडीहरूको प्रदर्शनबाट निकै खुसी छौँ।’, उनले भने ।

स्विट्जरल्यान्डले खेलभर सिर्जना गरेका धेरै राम्रा अवसर सदुपयोग गर्न सकेन। नटिङ्घम फरेस्टका फरवार्ड ड्यान न्डोयेले केही उत्कृष्ट अवसर गुमाए भने रुबिन वर्गास र ब्रिल एम्बोलोले पनि स्पष्ट गोल गर्ने अवसर खेर फाले।
खेलको अन्त्यतिर स्विट्जरल्यान्डको खेलमा तीव्रता घट्दै जाँदा कतारले त्यसको फाइदा उठायो र लामो समयसम्म दबाबमा रहे पनि अन्ततः अप्रत्याशित रूपमा एक अङ्क हात पार्न सफल भयो।
यो नतिजा कतारको फुटबल इतिहासमा सबैभन्दा स्मरणीय उपलब्धिमध्ये एकका रूपमा रहने अपेक्षा गरिएको छ। त्यस्तै, शनिवार नै भएको अन्तिम खेलमा स्कटल्याण्डल हैटीलाई १० गोलले पराजित गरेको छ ।
तस्विर सौजन्य : फिफा

















