कराते खेलाडी सन्तोषलाई अमेरिकामा ‘यलम्बर खेलकुद अवार्ड’
न्यू योर्क, अमेरिका / कराते खेलाडी सन्तोष राई अमेरिकामा सम्मानित भएका छन् । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यू योर्क च्याप्टरले सन्तोषलाई ‘यलम्बर खेलकुद अवार्ड’ द्वारा सम्मान गरेको हो ।
न्यू योर्कस्थित कोरोना पार्कमा शनिवार आयोजित साकेला उभौली कार्यक्रमका सन्तोषलाई दुई हजार डलर नगद सहितको अवार्ड प्रदान गरिएको हो।
न्यू योर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले सन्तोषलाई अवार्ड प्रदान गरेका थिए।
किरात राई सोसाइटी अफ अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष एवं कार्यक्रम संयोजक शम्भु राईको सभापतित्वमा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यू योर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नेपालमा हाल प्रशिक्षक समेत रहेका सन्तोष नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता हुन्। उनले अप्रिलमा एल्मकोर सेन्टरमा सम्पन्न ‘हिराल्डोज काई शोबुकान सोतोकान इन्टरनेसनल कराते च्याम्पियनसिप २०२६’ मा काता तर्फ स्वर्ण पदक जितेका थिए।
सेमिफाइनलमा अमेरिकाका जैनब जुबैरलाई हराएका सन्तोषले फाइनलमा चार्ल्स जार्डिन्सलाई हराउँदै स्वर्ण पदक जितेका थिए।
यस्तै कुमुते तर्फ सन्तोषले रजत पदक जितेका थिए। सेमिफाइनलमा नेथानिया जुनियरलाई हराउँदै फाइनल पुगेका सन्तोष गौरी एओन सँग पराजित हुँदा दोहोरो स्वर्णबाट वञ्चित भएका थिए।
दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता सुनिला लामाको प्रशिक्षणमा सन्तोषले यसअघि युएस ओपन कराते च्याम्पियनसिपको काता विधामा कास्य पदक जितेका थिए ।
‘यलम्बर खेलकुद अवार्ड’ प्राप्त गरे पछि सन्तोषले खुसी व्यक्त गरे ।
“यो सम्मान पाउँदा मलाई निकै खुसी लागेको छ। मलाई योग्य ठानेर हौसला बढाउनु भएकोमा किरात राई सोसाइटी अफ अमेरिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु।” सन्तोषले भने ।



















