सिराक्युजमा नयाँ वर्ष २०८३ : न्यू योर्क गभर्नरबाट नेपाली भाषी भुटानी समुदायलाई शुभकामना
सिराक्युज, न्यू योर्क / अमेरिकाको न्यू योर्क राज्यको सिराक्युजस्थित भूट्नीज कम्युनीटी इन सिराक्युज (बीसीएस) ले अप्रिल ११, २०२६ — आयोजना गरेको नयाँ वर्ष २०८३ कार्यक्रमको अवसरमा न्यू योर्क राज्यकी गभर्नर क्याथी होचुलले विशेष शुभकामना सन्देश पठाएकी छन्।
गभर्नर होचुलद्वारा पठाइएको आधिकारिक सन्देश बीसीएसका अध्यक्ष विकास रेग्मीलाई गभर्नरको कार्यालयका सेन्ट्रल न्यु योर्क क्षेत्रीय प्रतिनिधि ट्रेसी डीजेनोभाले हस्तान्तरण गरेकी थिइन्।
उक्त सन्देशमा भुटानी समुदायले स्थानीय स्तरमा पुर्याएको योगदानको प्रशंसा गर्दै बीसीएसले सांस्कृतिक पहिचान, सामुदायिक सेवा र नागरिक सहभागितामा खेलेको भूमिकाको सराहना गरिएको छ।

अध्यक्ष विकास रेग्मीले समुदायको तर्फबाट यस्तो सम्मान पाउनु गौरवको विषय भएको बताउँदै गभर्नर होचुलप्रति आभार व्यक्त गरे।
उनले भने,“नयाँ वर्षले हामीलाई नयाँ ऊर्जा र प्रतिबद्धतासहित अगाडि बढ्न प्रेरित गर्छ—सेवा गर्न, नेतृत्व गर्न र एक अर्कालाई सशक्त बनाउन। यो नयाँ लक्ष्य तय गर्ने, अवसरलाई अङ्गाल्ने र अझ सशक्त तथा एकताबद्ध समुदाय निर्माण गर्ने समय हो।”
कार्यक्रम सफल बनाउन सहयोग गर्ने बीसीएसका बोर्ड सदस्य तथा स्वयंसेवकहरूप्रति पनि उनले विशेष धन्यवाद व्यक्त गरे। कार्यक्रममा दुई सय ५० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो, जसले समुदायको एकता र सक्रियता झल्काएको थियो।

त्यसै गरी, कार्यक्रमलाई सफल र स्मरणीय बनाउन सहयोग पुर्याएको नेपएक्स टोलीप्रति पनि अध्यक्ष रेग्मीले आभार व्यक्त गरे।
‘नेपाली नयाँ वर्षको यो उत्सव केवल सांस्कृतिक कार्यक्रम मात्र नभई सेन्ट्रल न्यू योर्कमा भुटानी समुदायको बढ्दो उपस्थिति र सकारात्मक योगदानको प्रतीकका रूपमा पनि रह्यो ।’ समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष रेग्मीले भने ।

फोटोहरु अजय सापकोटा
















