पेन्सिल्भेनिया योर्क काउन्टी जंगलमा फेरि मानव कङ्काल भेटियो, प्रहरीद्वारा अनुसन्धान शुरु
योर्क, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको योर्क काउन्टीका प्रहरीले जंगलमा मानिसको कङ्काल भेटिएको सूचना पाए पछि आफूहरूले अनुसन्धान गरिरहेको बताएको छ ।
पेन टाउनसिप प्रहरीका अनुसार, एउटा जङ्गल क्षेत्रमा मानिसको अवशेष रहेको रिपोर्ट आएपछि मंगलबार बेलुका करिब ७:३० बजे अधिकारीहरू ह्यानोभरको ‘७०० ब्लक ओल्ड रिज रोड’ (700 block of Old Ridge Road) मा पुगेका थिए।
प्रहरीका अनुसार पेन टाउनसिप प्रहरी विभाग, ह्यानोभर बरो प्रहरी विभाग, योर्क काउन्टी फरेन्सिक टोली र योर्क काउन्टी कोरोनरको कार्यालयले घटनाको अनुसन्धान शुरु गरेका छन्।
भेटिएको कङ्काल कसको हो, कसरी त्यहाँ आइपुग्यो र मृत्युको कारण के हो भन्ने कुरा फरेन्सिक जाँच र विस्तृत अनुसन्धान पछि मात्रै खुल्नेछ।
प्रहरीले सर्वसाधारणलाई अनुसन्धान भइरहेको उक्त जङ्गल क्षेत्रमा नजान र यदि कसैसँग यस घटनासँग सम्बन्धित कुनै जानकारी वा प्रमाण भएमा तुरुन्त अनुसन्धानकर्ताहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
यो क्षेत्रमा मानव कङ्काल भेटिएको दुई महिना भित्रमा यो दोस्रो घटना भएको जनाइएको छ ।
‘५४ दिन अघि, अर्थात् अप्रिल १६, २०२६ मा, ओल्ड रिज एभिन्यूको घटनास्थलबाट करिब ०.६० माइल पश्चिममा मानिसको अवशेष फेला परेको थियो। उक्त अवशेष ह्यानोभर बरोको मिडिल स्ट्रिट र सेन्टर स्ट्रिटको बीचमा पर्ने एउटा सानो जङ्गल नजिकै प्रयोगविहीन अवस्थामा रहेको रेलको लिक (ट्रेक) मा फेला परेको थियो।’ स्थानीय सञ्चारमाध्यम दि इभिनिङ सनले लेखेको छ ।
फरेन्सिक टोलीले उक्त अघिल्लो शव सन् २०२५ जुनदेखि हराइरहेका ३९ वर्षीय मार्क हिक्सको भएको पुष्टि गरेको थियो, जसको मृत्यु आत्महत्याका कारण भएको बताइएको थियो।

















