रास्वपाले गृहमन्त्रीलाई सदनमा शर्त सहित बोल्न दिने (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकलाई सदनमा शर्त सहित बोल्न दिने निर्णय गरेको छ। भिजिट भिषा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिए पछि यो मुद्दा अहिले नेपाली राजनीतिमा पेचिलो बनेको छ।
गृहमन्त्रीले मंगलवार सनदमा त्यस बारेमा जवाफ दिने तयारी गरेका छन्। यसै विषयमा रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले सदनमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने तर त्यसमा शर्त रहने निर्णय गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीले जवाफ दिनुभन्दा अगाडि आफूले प्रश्न सोध्न पाउनुपर्ने पार्टीको शर्त रहेको बताए।
संसदीय दलको बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताए।
उनले भने, ‘पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो । सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन । हामीले प्रश्नै सोध्न नपाईकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनौँ । प्रश्न सोध्न पाउनुपर्छ । उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने ।’
उनले गत वर्ष २२ वटा बैठकसम्म दुई महिना तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको सम्झिए ।
‘उहाँहरूले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो । तर, हामी त्यस्तो गर्दैनौँ । हामी उहाँहरूको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौँ ।’
कांग्रेस पदाधिकारी बैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।
झाले भने, ‘अरूको बारेमा प्रश्न उठ्दैमा राजीनामा चाहिने, आफ्नो चाहिँ पदाधिकारी बेटकबाट क्लीन चिट लिने ? कांग्रेसको पदाधिकारी बैठकले कसरी क्लीन चिट दिन पाउँछ ? अनुसन्धानमा सघाउनुपर्ने होइन ?’