गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशाङ्क

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा.शशाङ्क कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् ।
सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा आयोजित पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन् ।
लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोप मात्र लागेको डा.कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरूलाई कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए ।
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईँले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौँ। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन, हेर्छु मात्रै भन्नुभएको छ,’ उनले भने । तीन जना नेतालाई स्पष्टीकरण सोध्नुपर्ने डा.शशांकको भनाइ थियो ।