कांग्रेसले प्रतिबद्धता पुरा गर्छ तर सरकारले परिणाम दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँग सरकारमा जाँदा गरेको प्रतिबद्धता कांग्रेसले कायम नै राख्ने बताएका छन् ।
सोमबार काठमाडौँमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने भन्दै नयाँ ढङ्गले काम गर्नेतर्फ सोच्नुपर्ने बताए ।
उनले भने,‘हामी जोखिम उठाउन तयार छौँ । यस्तो कुराहरूमा हाल गरिरहेको काम भन्दा फरक ढङ्गले गर्नुपर्छ । कम्फर्ट जोनबाट बाहिर आएर काम गर्नुपर्छ । नयाँ ढङ्गले सोच्नुपर्ने छ । नेपाली कांग्रेस अहिले नेकपा एमालेसँग सरकारमा छ । पार्टीको तर्फबाट प्रतिबद्धता र समर्थन छ । अहिलेको प्रतिबद्धताका आधारमा तलमाथि गर्न लाग्दैनौँ । यसलाई तीव्र रुपमा अगाडि बढाउँछौं तर यो समयको प्रयोग गर्न चाहन्छौँ । सरकार बस्नको लागि मात्र भएर भएन, काम गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ । रिजल्टमा काम गर्न चाहन्छौँ । ’
त्यस्तै उनले सरकारले हात हालिरहेका थुप्रै ठाउँहरूमा राम्रो परिणाम नआएको भन्दै परिणाम नआउने ठाउँमा हात हाल्न छाड्नको लागि सुझाव दिए ।
उनले भने,‘खास गरेर अब समय आयो । जुन हामीले कम्फर्टजोनमा बसेर काम गर्यौँ । अब यसरी गरेर हुँदैन । कतिपय नयाँ सन्दर्भमा जानुपर्ने हुन्छ । सरकारले हात हालिरहेका थुप्रै ठाउँहरू छन् । जसमा सरकारले हात हाल्दा राम्रो परिणाम आएको छैन । ती ठाउँमा हात हाल्न छाडिदिए हुन्छ ।’