अमेरिकाले डिपोर्ट गरेका नेपाली भाषी भुटानी शरणार्थीलाई नथुन्न सर्वोच्चको आदेश
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाबाट देश निकाला भए पछि विभिन्न देश हुँदै नेपाल आइपुगेका नेपाली भाषी भुटानी शरणार्थीहरूलाई नथुन्न सर्वोच्च अदालतले आदेश दिएको छ।
अदातलते उनीहरूलाई अमेरिका जानु भन्दा अगाडिकै अवस्थामा राख्न समेत भनेको छ।
न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेको बिहीबारको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
‘निवेदकहरू संयुक्त राज्य अमेरिका जानु अगाडिको झापा जिल्ला बेलडाँगी शरणार्थी शिविर, वा अन्य उपयुक्त स्थानलाई हद तोकी निवेदकहरूलाई हाल राखेको इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट स्थान हद तोकिएको उपयुक्त स्थानमा स्थानान्तरण गरी यी निवेदकहरूका सम्बन्धमा जो जे बुझ्नुपर्ने बुझी प्रचलित कानून बमोजिमको अनुसन्धानको कार्य आगामी ६० दिन भित्र सम्पन्न गर्नु गराउनु भनी विपक्षीको नामा यो आदेश जारी गरिदिएको छ।‘आदेशमा भनिएको छ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा अमेरिकाले देश निकाला गरेका मध्ये चार जना अहिले नेपाल प्रहरीको नियन्त्रणमा छन्। अदालतले तीनै चार जनालाई नथुन्न भनेको हो।
एशियाली रिफुजी युनाइटेड (एआरयु) का अनुसार अहिले सम्म अमेरिकाबाट ६० भन्दा बढी जना नेपाली भाषी भुटानी पक्राउ गरेका छन् । पेन्सिल्भेनिया राज्यबाट मात्र २० जना भन्दा बढी पक्राउ परेको जनाइएको छ। त्यस पछि सबै भन्दा धेरै ओहायोबाट छन्।
तेस्रो देश पुनर्वास अन्तर्गत शरणार्थीको हैसियतमा अमेरिका आएका उनीहरूलाई अमेरिकाका अन्य राज्यहरुबाट पनि पक्राउ गरिएको थियो।
पक्राउ परेका मध्ये देश निकाला हुनेको संख्या कम्तिमा २० पुगेको छ। त्यस मध्येमा पेन्सिल्भेनियाबाट १२ जना छन्।
अमेरिकाबाट भुटान पुर्याइएकाहरूलाई भुटानले भारत हुँदै नेपालको सीमामा लगेर छोडेको र त्यसमा चार जना पक्राउ परेका थिए।
उनीहरु शरणार्थी शिविरमा रहेका आफन्तलाई भेट्न पुगेका बेला नेपाल प्रहरीले पक्राउ गरेको हो। अमेरिकाबाट देश निकालामा परेका अन्यको अवस्था अहिले सम्म अज्ञात छ।
सन् १९९० मा जातीय हिंसाका कारण लाखौँ नेपाल भाषी भुटानी भुटानबाट लखेटिएका थिए। उनीहरू झन्डै दुई दशक नेपालमा रहेको शरणार्थी शिविरमा बसे पछि विभिन्न देशमा पुनर्वास भएका हुन्। नेपालको शिविरमा पनि अझै ६ हजार भन्दा बढी नेपाली भाषी भुटानी स्वदेश फर्कने आशमा बसिरहेका छन्।
तर अमेरिका सँग आफ्ना नागरिक भएको स्वीकार गरेको भुटानले उनीहरूलाई थिम्पु पुगे पछि फेरि देश निकाल गरेको छ।