शिक्षकहरूको माग तत्काल सम्बोधन हुनुपर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकहरूको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्ने बताए ।
उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैँले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ । शिक्षकहरूको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ ।’
यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए ।
उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ । यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ । त्यस कारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो । यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ ।’
नेपालमा सबै जना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।