चैत्र १५ को घटनामा सम्पूर्ण रुपमा पूर्व राजा दोषी छन् : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत्र १५ गते भएको घटनामा सम्पूर्ण रुपमा पूर्व राजा दोषी रहेको बताएका छन् ।
आइतबार संघीय भवन परिषद्मा संचारकर्मीहरुसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्व राजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘बिपी कोइरालाले सशस्त्र संघर्षको बेलामा जे जति घटनाहरू भए अदालतमा बयान दिँदा भन्नुभयो, म प्रत्यक्ष रुपमा सहभागी थिइन् तर पनि मेरो आव्हानमा भएकोले प्रत्येक घटनाको बारेमा म नैतिक जिम्मेवारी लिन्छु । आज नैतिक जिम्मेवारी पूर्व राजाले लिनुपर्छ कि पर्दैन ?’ पनि प्रश्न गरे।
‘मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकार मारिदा दुःख लाग्यो भन्ने विज्ञप्तिसम्म पनि पत्रिकाले छाप्ने गरी पठाउनुपर्छ कि पर्दैन ? कस्तो संवैधानिक राजा खोजेको हो ? त्यसैले यो घटनामा सम्पुर्णरुपमा पूर्व राजा दोषी छन् । पूर्व राजालाई संविधानले प्रवर्द्धित गरेको नागरिकको हक अधिकारभन्दा बढी राज्यले लिएको छ ।’ शर्माले भने।
उनले सरकारले चाहे पूर्वराजले पाएका सेवा सुविधा खोसिन सक्ने भन्दै पूर्वराजले आफ्नो सीमामा बस्नुपर्ने बताए ।
यस्तै, नेपाली कांग्रेसका संसद् चन्द्र भण्डारीले नेपालको संविधानको संरक्षणको बारेमा नसोच्नु, अराजकताको अन्त्यको लागि नसोच्नु पनि सरकारको कमजोरी भएको बताएका छन् ।