कुलमान हटाइएको विषयमा प्रतिनिधिसभामा विपक्षीको निरन्तर अवरोध, बैठक स्थगित
काठमाडौँ । विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाइएको भन्दै प्रतिनिधिसभामा पटक पटक अवरोध गरे पछि बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न नसके पछि स्थगित भएको हो ।
बुधबार बसेको बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए ।
उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए ।
त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्ने गरी बैठक सारेका थिए ।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेका अनुसार अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।