एउटै मञ्चबाट डा.शेखर र शशाङ्कले सुनाए गिरिजाप्रसादको योगदानको कथा
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशाङ्क कोइराला र नेता डा. शेखर कोइरालाले एकै मञ्चबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानका बारेमा चर्चा गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानो बुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा कोइरालाद्वयले गिरिजाप्रसादसँगको सङ्गत र उनको राजनीतिक योगदानबारे चर्चा गरेका हुन् ।
कार्यक्रममा डा.शशाङ्कले गिरिजाप्रसादले पहिला प्लेन हाई ज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए । गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाई ज्याक’ गरेको प्रसङ्ग सुनाएका हुन् ।
सोही क्रममा डा.शेखरले गिरिजाप्रसाद कोइराला(सानुबुबा)सँग केटाकेटीहरू अत्यन्तै रमाउने गरेको सुनाए । उनले सानुबुबा पाँच छ दिनसम्म रिसाएका कार्यकर्ताको घरमा बसिदिने, देश भरी सोही किसिमको गतिविधि गर्ने गरेको बताए । उनले नेपाली राजनीतिमा गिरिजाबाबुको योगदानको छाप युगौँसम्म रहने बताए ।
‘भुटानको पिपुल्स पार्टी पनि गिरिजाप्रसादको देन हो । उहाँ बीपीसँग चित्त दुखाएर मनहरी दाईलाई लिएर भुटान जानुभयो र संगठन निर्माण गर्न थाल्नुभएको हो । उहाँको सङ्गठनप्रति भुटान पनि प्रभावित छ,’उनले भने,‘उहाँ कुनै समय एन्टी कम्युनिष्ट भएर आउँनु भएको थियो । तर ०४७ सालको सरकारमा आएपछि चेन्ज हुनुभएको थियो । र अहिले जुन परिवर्तन भएको छ वा उदारीकरण भएको छ त्यसको मूल व्यक्ति गिरिजाप्रसाद हो । माओवादी आन्दोलनको उतारचढावका क्रममा उहाँ कञ्चनपुर जाँदा एयरपोर्टमा एक जना साथीको हत्या भएको घट्ना थाहा पाएपछि उहाँमा परिवर्तन आएको हो । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउने प्रयास गर्नुभएको थियो । कांग्रेसको दुई टिमलाई पनि मिलाउनु भयो र शान्ति प्रक्रियासम्म पुग्नुभयो ।’