पूर्व राजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने
काठमाडौँ । पूर्व राजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन्।
पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् ।
यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईँले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्व राजाको अपिलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरङ्गित हुँदै पूर्वराजलाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।