अमेरिकामा नेपालीको सामाजिक संस्था र यसको कर्तव्य
बिष्णु बराल
बाल्टिमोर,मेरिल्याण्ड/समाजलाई सहयोग पुराउनको साथै रूपान्तरणका खातिर बौद्धिक व्यक्तित्वहरू बाट निर्माण गरिएको संस्था नै सामाजिक संस्था हो जसले भौतिक,धार्मिक , सांस्कृतिक, खेलकुद र मनोरञ्जनका निमित्त काम गर्दछ। झन् प्रवासमा यस्तो संस्थाको महत्त्व अझ बढी हुने गर्दछ। जब आफू जन्मेर हुर्केको भूगोल कटेर प्रवासमा पुग्छौँ त्यहाँ व्यक्त गर्न नसकिने अमूल्य पीडा हुन्छ ।
नेपाली अनुहार देखे पनि आफ्नै घरको सदस्य भेटेको जस्तो अनुभव हुन्छ। कुराकानीको सबैभन्दा अगाडी सोध्ने भनेको नै तपाई नेपाली हो ? त्यसपछिको भलाकुसारीमा कुन ठाउँ, कुन जिल्ला भन्ने परिचयको सविस्तार हुन्छ । अपनत्व र राष्ट्रियता वार्तालापको हरेक शब्दमा हुने गर्दछ ।
समाज हितको निमित्त हामीले स्थापना गरेका क्षेत्रीय, जातीय, धार्मिक, सांस्कृतिक, साहित्यिक, राजनैतिक, सामाजिक संस्था, खेलकुद सम्बन्धी संस्था, शैक्षिक संस्था वा अन्य कुनै समूह, क्लब वा परिवारको नामबाट सञ्चालित संस्था नै किन नहोस् त्यसले कुनै फरक पर्दैन । तर आफू जोडिनु चाही पर्छ। फेरी आफू जोडिएको संस्थाको अवधारणा, उद्देश्य, नीति, कार्य योजनाको हेक्का चाहिँ राख्नुपर्ने हुन्छ र योसँगै संस्था निस्वार्थ भावनाले ओतप्रोत रहेर सामाजिक सेवामा समर्पित रहनु वाञ्छनीय हुन्छ ।
स्वार्थसहितको संस्थामा उपस्थिति समाजसेवा हुन सक्दैन । नाम कहलिनको लागि वा संस्थाले आयोजना गरेको मञ्चमा शान र मानको लोभले गरेको समाजसेवाले सीमित व्यक्तिको भलाई त होला तर संस्था उन्नतिको बाधक बन्न पुग्दछ । आफ्नो व्यवसायको प्रभाव बढाउने होडमा पनि कयौँ संस्था मा कब्जा गर्ने नीति पनि देखिन्छ त्यो गलत नियत र प्रवृत्ति कर्तुत पोखिएर जाने निश्चित छ ।
सबै संस्था शतप्रतिशत राम्रा नै छन् भन्ने पनि होइन । हरेक विषयको राम्रो र नराम्रो पक्ष हुने गर्दछ । संस्थाको नियम/विधान अनुरूप चल्ने, राजनैतिक तत्त्व हाबी गर्ने र गराउने, नेतृत्व चयनमा नातावाद र कृपावादलाई प्रश्रय दिने, एकलौटी रुपमा मनोमानी गर्ने, आर्थिक हिनामिना र अनियमितता गर्ने, विभिन्न कार्यक्रमहरूको पारदर्शिता प्रस्तुत नगर्ने, आफू र आफ्नो संस्थाले गरेको कार्य मात्रै राम्रो भन्ने र अरूको सम्मान नगर्ने, खेदो खन्दै गल्ती मात्र औँल्याउने जस्ता पात्र र प्रवृत्ति पनि छन् । यस्तै यस्तै कारणहरूले व्यक्तिको संस्थाप्रतिको असन्तुष्टि, उपेक्षा र वितृष्णा जागेको र मोह नरहेको र सहभागिता न्यून रहेको हुन सक्दछ । यद्यपि सबै संस्थालाई गलत उपमा दिनु र एउटै टोकरीमा मापन गर्नु न्यायोचित भने हुँदै होइन ।
नेतृत्व चयनमा पनि नेपाल बाहिरको संघ संस्थाहरूमा नेतृत्व निर्विरोध हुनु पर्दछ। सहयोगी भावनाले सबैलाई मिलाएर विभिन्न संघ संस्थाहरूमा नेतृत्व चयन गरियो भने समाज चिरा चिरा पनि पर्दैन सबैको तन मन र धन उच्च कोटीको समाज सेवामा नै लाग्छ। फलस्वरूप परिणाम पनि राम्रो हुन्छ। कहीँ कतै पनि चुनाव गर्न नपरोस् भन्ने चाहाना हो तर पनि प्रजातान्त्रिक प्रक्रिया को विरोधी चाही हुँदै होइन।
अमेरिकामा पनि धेरै संघ संस्थाहरू छन्। ती संघ संस्थाहरूमा नेतृत्व लिन हानथाप नै हुन्छ। असल नियतका साथ आएको नेतृत्वले निम्न लिखित कार्यहरूको सुरुवात र निरन्तरता देओस् भन्ने अपेक्षा राख्दछु ।
आवास गृहको निर्माण
कयौँले बिरामी पर्दा वा काम छोडेर बस्दा संस्थाले विशुद्ध सेवाको भावले खोलेको आवास गृह को नि:शुल्क उपभोग र सेवा प्राप्त गर्न पाउने बनाउने । जसका कारण संस्थाले कठिन अवस्थामा नेपालीहरूको आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको मानिने छ।
अझ आजको अवस्थामा नेपाली विद्यार्थीहरू लगायत अन्य वर्गका साथीहरूलाई पर्न गएको समस्यामा म अमेरिकामा बसेर हेर्दा सामाजिक संस्थाको कर्तव्यमा अझ एक कदम अगाडी बढाउनु पर्ने देखिन्छ।
धार्मिक
-विभिन्न धार्मिक संस्थाहरू सँग मिलेर आफ्नो धर्म, शास्त्र, परम्परा र दर्शन जोगाउने कार्यमा अग्रसर हुने ।
-नेपाली समुदायको जनघनत्व बढ्दै गएको हुनाले मृत्यु दर पनि दिनानुदिन बढ्दै गएको छ त्यसैले दाहसंस्कार घर कन्ट्याकमा राख्न पर्ने देखिएको छ जसले गर्दा आवश्यक पर्नासाथ दाहसंस्कार गर्न धेरै कुर्न नपरोस्।
-हाम्रा अपार्टमेन्ट र घरहरूमा किरियापुत्रीहरु बस्नको लागी असुविधा देखिएकोले हाम्रा सामुदायिक मन्दिर र भवनमा अनुरोध गरी उचित व्यवस्था गर्नु पर्ने छ।
मौलिकता
नेपाली मौलिकता जोगाउन विभिन्न जातीय संघ संस्थाहरूको चाडपर्वहरूको अवसरमा बाजागाजा सहित खुशीयाली मनाउने ।
आर्थिक र भौतिक सहायता
क्षेत्रीय संस्थाहरू सँग मिलेर आफ्नो गृह जिल्ला अन्तर्गत आर्थिक, भौतिक र संरचना एवं पूर्वाधार विकासका निमित्त मात्र नभएर दैवी प्रकोपबाट पीडित व्यक्ति वा परिवारलाई राहत प्रदान गर्ने कामहरु गर्ने ।
साहित्यिक
भाषिक र साहित्यिक संस्थाहरू सँग मिलेर आफ्नो क्षेत्रको विस्तार र उन्नयनको निम्ति जुट्ने।
सांस्कृतिक
सांस्कृतिक संस्थाहरू सँग हातेमालो गरेर आफ्नो संस्कृति र कलाकारको हितको विषयमा केन्द्रित रहँदै गीत सङ्गीतको माध्यमबाट हाम्रो कला र संस्कृतिको जगेर्ना गर्ने
शिक्षा तथा खेलकुद
एजुकेशनल एक्स्पो कार्यक्रमहरु आयोजना गर्दै खेलकुद सम्बन्धी व्यक्तिहरूको साथ लिएर स्वस्थ जीवनको लागी खेलकुदको आवश्यकता र अपरिहार्यता जनाउँदै प्रतियोगिता आयोजना गर्ने।
स्वास्थ्य
लागु औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथामका उपायहरू, समसामयिक विषयमा केन्द्रित विभिन्न चेतनामूलक, अन्तर्क्रिया छलफल तथा परामर्श लगायतका कार्यक्रम मार्फत प्रवासीहरूको थकित मन र तनलाई स्व-स्फूर्त बनाउने र खुशीको अनुभूति दिलाउने कामहरु गर्ने।
(बराल गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका बोर्ड अफ डाइरेक्टर हुन्)