भुटान रातो सूचिमा पर्नुको कारण र निवारण
गंगा लामिटारे
कोलम्बस, ओहायो/ अमेरिकाले भुटानलाई रातो सूचिमा राखेको छ। भुटान रातो सूचिमा पर्नु एउटा मात्र कारण छैन । थुप्रै कारणहरू छन् । त्यसमा पनि अफगानिस्तान,पाकिस्तान र नर्थ कोरिया जस्ता खराब देशहरूको वर्गमा सुचिकृत हुनु कुनै आश्चर्यको कुरो होइन,भुटानका लागि । सानु,सुन्दर,शान्त र विश्वकै खुसीयालीको देश भुटान अचानक रातो सूचिमा पर्नु र उसका नागरिकका लागि अमेरिकाको यात्रा माथिसमेत प्रतिबन्ध लाग्नु अचम्मकै कुरा भन्ने लाग्छ । तर वास्तवमा भन्नुपर्दा आफैँमा भुटान,न शान्त छ, न खुसी छ,न उदार छ न प्रजातान्त्रिक नै छ ।
नर्थ कोरिया भन्दा पनि कयौँ गुणा बढी निरङ्कुश छ र तानाशाह पनि । शान्त र खुसी त बाह्य संसारलाई देखाउने दाँत मात्र हो सरकारको । चपाउने दाँत अर्कै छ । कमसेकम नर्थ कोरियाले आफ्नै नागरिकलाई सेना लगाएर देश निकाला त गरेन । बरु नागरिकलाई साथमा लिएर नर्थ कोरिया आफूविरूद्ध आइलाग्ने संसारकै शक्तिशाली देशहरूलाई चुनौती दिइने हिम्मत गर्दछ । यो शक्ति त्यतिकै हासिल गरेको होइन उसले । नागरिकको शोषण अवश्य गरेको होला तर जनतामाथि विभेद गरेको छैन । सर्वस्व लुटेर देश निकाला गरेको पनि छैन । उसका सेनाले गाउँका गाउँ आगो लगाएको छैन । आफ्नै देशका छोरी-चेलीलाई बलात्कार गर्दै हिँडेको छैन । गाउँले किसानलाई गोली ठोक्दै र मान्छे मार्दै हिँडेको छैन ।
संसार कै सहयोग र सहायता विना पनि नर्थकोरिया शक्ति सम्पन्न छ । आफूलाई शक्तिशाली ठान्ने र मान्नेहरूका लागि एउटा सशक्त चुनौतीको रूपमा उदाएको छ, नर्थकोरिया । भुटानले नर्थकोरियाको तानाशाहबाट अन्य धेरै कुराहरू सिक्नु सक्नुपर्छ । देशको आन्तरिक शक्ति भनेको जनता हो । जनता एक भए मात्र देश बलियो र शक्तिशाली हुन्छ भन्ने भुटानले नर्थकोरियाबाट सिक्नुपर्छ ।
भुटान बाहिर जति सुन्दर र शान्त देखिन्छ भित्र त्यस्तो छैन । देशको आन्तरिक शक्ति भनेको जनता हो । जनताले आफ्नो भाषा,पोशाक र सांस्कृतिक अभ्यासहरूको स्वतन्त्र र निर्भयताका साथ अनुभूत गरिने परिपाटि हो । देश आफैँमा एउटा फूलबारी हो । एउटै मात्र फूल फुल्ने बारीलाई फूलबारी कदापि भनिँदैन । वास्तविक फूलबारी त्यो हो जहाँ अनेक थरिका फूलहरू फुल्न पाउँछन् । रङ्गी चङ्गी फूलहरू मुस्कुराएको बारी नै वास्तवमा असल फूलबारी हो र देशको सौन्दर्य पनि । तर भुटानको फूलबारीमा ङालोङबाहेक अरू कसैलाई फुल्ने अवसर छैन । सार्दी,डोया,सार्छोप्पा र ल्होल्छाम्पा समुदायले न राम्ररी फुल्न पाएका छन् न मुस्कुराउन नै । रुनु र हाँस्न पनि ङालुङ हुनुपर्छ । खान र लाउन पनि नागरिकलाई स्वतन्त्र छैन भुटानको प्रजातान्त्रिक व्यवस्थामा । राजाले जे बोल्छन् रैतीले त्यही भाषा बोल्नु पर्ने । राजाले जसरी खान्छन् र जसरी हिँड्छन् त्यसरी नै खानु र हिँड्नु पर्ने । राजाले जुन पोशाक लाउँछन् त्यही पोशाक लाउनुपर्ने । राजाले रुँदा रुनु र राजाले हाँस्दा हाँस्नुपर्ने । हरेक कुरामा राजाको अनुकरण गर्नु पर्ने जस्ता प्रयोग र अभ्यासहरू छन् भुटानमा जुन नर्थकोरियाका तानाशाह किमजोङको शैली र शानभन्दा अलिकति पनि फरक छैन ।
भुटानको सबै भन्दा खतरनाक र विभेदकारी नीति भनेको ‘एक जनता एक राष्ट्र’ हो । जुन नीतिको आडमा भयाङ्कर ठुलो विभेद गरिएको छ । जुन नीतिको कार्यान्वयनले राष्ट्रघात गरेको छ । नागरिकको भावनाको एकतालाई छिन्नभिन्न बनाएको छ । वर्षौँदेखि नङ र मासुजस्तै मिलेर बसेका र आफ्नै भाषा,संस्कृति र आस्थामा रमाइरहेका जनताको भावना र विश्वासलाई खलबल्याएको छ । कुल जनसंख्याको १५ प्रतिशत ङालुङ जातिको संस्कृति अन्य समुदायमाथि जबरजस्ती लादेर उनीहरूको भाषा,संस्कृति र सभ्यतामाथि अतिक्रमण गर्ने भुटानको जुन दुःसाहस छ त्यो पनि रातो सूचिमा पर्ने कारण मध्यको एउटा हो । यस्तो विभेदकारी सोचले देशलाई गम्भीर बरबादीतिर उन्मुख गराउँदै छ । जसको दुष्परिणाम आज संयुक्त राज्य अमेरिकाले छताछुल्ल परिदिएको छ ।
देशका सबै समुदायको भाषा र संस्कृतिको संरक्षण गर्नुको सट्टा वाङ्चुक वंशको शासन व्यवस्था प्रारम्भ हुनुभन्दा कयौँ वर्ष पहिलादेखि दक्षिण भुटानमा स्थायी रूपमा बसोबास गरेका नेपाली भाषीका गाउँ,खोला,बन-जङ्गल,बाटो घाँटो,हिमाल-पर्वत,शहर र देउरालीहरूको नामसमेत परिवर्तन गरेर नेपाली भाषीको सांस्कृतिक पहिचान र अस्तित्वलाई जरैबाट समाप्त गर्नेतर्फ सरकार उग्र दमनमा ओर्लियो । ङलोपले देश लैजान लागे भनेर उत्तर र पूर्वका नागरिकहरूलाई उक्साएर नेपाली भाषी समुदायविरुद्ध त्यतिकै घृणा र विद्वेष पनि फैल्याइयो । जसको उदाहरण सन् १९९० मा पूर्वी र उत्तरी भुटानका नागरिकलाई दक्षिणका नेपाली भाषी विरुद्ध प्रयोग गर्नु हो । दक्षिणकालाई खेदाउन सहयोग गऱ्यौ भने तिनीहरूका राम्रा जग्गाजमिन तिमीहरूलाई दिन्छु भनेर स्वयं राजा जिग्मेले भड्काएका प्रसङ्गहरू त्यति बेलाका सरकारी समाचारपत्रमा प्रकाशित छन् ।
एउटा लुगा सिलाउने सियो र आगो बाल्ने सलाइसम्म उत्पादन गर्ने क्षमता नभएको देश आज संसार कै शान्त र खुसीको देश भनेर वकालत गरिरहेको छ । बिहान-बेलुकाको छाक टार्ने खाद्य सामग्रीदेखि नागरिकले लाज ढाक्ने वस्त्र सम्म देशमा निर्माण हुँदैन । सबै विदेशबाट आयत गरिन्छ । हरेक कुरामा पराश्रित एउटा निरीह फुच्चे राज्य कसरी खुसी र शान्त छ भनेर विश्वास गर्न सकिन्छ ? यो आफैँमा लज्जास्पद कुरा हो । भारतको दया र दातव्यमा बाँचेको एउटा पराश्रित देशले कसरी खुसी र समृद्धि हासिल गरेर संसारकै अगुवा भएको रहेछ भन्ने रहस्य भरखरैबाट खुल्न थालेको छ ।
जुन देशबाट हरेक दिन शिक्षित र दीक्षित वर्ग रोजगारी र सुन्दर अवसरको खोजीमा विदेशका गल्ली गल्ली भौँतारी रहेको स्थिति छ । जुन देशका कयौँ युवाहरू आज अमेरिका र क्यानडाका जेलहरूमा सडिरहेका छन् । उच्च शिक्षा आर्जन गर्न विदेश गएको दक्ष शक्ति न पुनः देश फर्किनै चाहन्छ । अहिले देश फर्किनेहरूको भन्दा पनि देशबाट बाहिरिनेहरूको लर्को धेरै लामो छ । तर सरकार देशका जल्दा बल्दा समस्याहरूको समाधान गर्नुको सट्टा संसारलाई सकल राष्ट्रिय खुसियाली र कथित माइन्फुल्नेश सिटीको परियोजनाको भ्रम छर्न व्यस्त छ ।
देशलाई अघोषित रूपमा अधोगतिमा धकेल्नुमा चावासुम नीति र त्यसको जबरजस्ती कार्यान्वयन नै प्रमुख रहेको ठान्छन् भुटानका जानकारहरू । उनीहरू भन्छन्, चावासुम भनेको राजा,देश र सरकार । यी देशका सर्वोपरि निकाय हुन् । यो देशको कानून हो । संविधान हो । जसले राजपरिवार,देश र सरकारका काम,कारबाहीका विरुद्ध बोल्न र लेख्न प्रतिबन्ध गरेको छ । यी देश सञ्चालनका तीन मुख्य आधारप्रति प्रश्न गर्नु अपराध मानिन्छ । राज द्रोह मानिन्छ । १९९० मा यही नीतिको सामूहिक रूपमा विरोध गरिएको थियो । विरोधमा उत्रिएका हजारौँ नागरिकलाई त्यही नीतिको आडमा जेल हालियो, जो अहिलेसम्म रिहा गरिएको छैन । सबैलाई जेलमा हाल्न सम्भव भएन । किन भने त्यस बेला जेलहरू पर्याप्त थिएनन् । जेलमा न अटेका जतिलाई त्यही नीतिको आधारमा राजद्रोहको अभियोग लगाइयो र सर्वस्व हरण गरी सङ्गिनको बलमा देशबाट निष्कासित गरियो ।
सन् १९९० मा दक्षिणका भुटानी नागरिकहरूमाथि चरम दमन,उत्पीडन र एक लाख नागरिकको निष्कासनको कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमै राजा जिग्मे सिङ्गेको एउटा तानाशाह र क्रूर शासकको रूपमा चर्चा चुलिँदै गयो । यसरी चारैतिरबाट आलोचित र अलोकप्रिय हुँदै गएपछि राजा जिग्मे सिङ्गेले २००८ मा एउटा प्रजातान्त्रिक व्यवस्थाको नाटक रचे । आफ्नो छोरा जिग्मे खेसरलाई राज-सिंहासनमा राखेर उनी राजनीतिबाट संन्यास लिएको घोषणा गरे । राजनीतिक षड्यन्त्रका चतुर खेलाडी राजा जिग्मे संवैधानिक प्रजातन्त्रको घोषणा गरेर एउटा तिरले दुई वटा शिकार गर्न चाहन्थे । पहिलो संसारलाई आफू प्रजातन्त्र विरोधी नभएको देखाउनु र दोस्रो नागरिकलाई उपहार स्वरूप प्रजातन्त्र सुम्पिएको नाटक गर्नु । त्यसमा उनी केही सफल देखिए पनि वास्तवमा सत्य त्यस्तो होइन ।
सिंहासनमा नबसे पनि राज्यको बागडोर अहिले पनि उनकै हातमा छ । बाह्य संसारलाई देखाउनैका लागि प्रजातन्त्र उपहारका रूपमा जनतालाई दिएका हुन् । तर अहिले पनि उनी सक्रिय छन् र पर्दापछि लुकेर शासन व्यवस्था हाँकिरहेका छन् । १९९० भन्दा अघि उनी असंवैधानिक क्रूर तानाशाहका रूपमा स्थापित थिए भने २००८ पछि उनी एउटा वैधानिक तानाशाहको रूपमा स्वघोषित र स्थापित भएका छन् ।
कुनै पनि शासकले आफ्नो शासन र सत्ता कहाँ त्यति सजिलै छोड्न सक्छ र ? मानव अधिकार उल्लङ्घनको घटनाको कारण चौतर्फी उनीमाथि चर्को दबाबबाट पर्दैगएपछि संसारलाई उदार र प्रजातान्त्रिक भएको देखाउन कै लागि उनले राजसिंहासन छोडेका थिए । जनताले नचाहँदा नचाहँदै पनि जबरजस्ती जनतालाई सत्ता सुम्पिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हल्ला मच्चाइयो । कुनै रक्तपात बिनै सिंहासनको पुस्तान्तरण गर्ने नरेश भनेर संसारमा खुबै हुइयाँ पनि मच्चाइयो । तर वास्तविकता त्यो थिएन । उनले सत्ता छोड्नुको वास्तविक कारण १९९० को नरसंहार नै थियो ।
नेपाली भाषी समुदायमाथि बलात्कार, हत्या,मानवअधिकार उल्लङ्घन,चरम उत्पीडन र लाखभन्दा बढी नागरिकको विस्थापनको कारण थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरबाटै चर्को दबाब परेपछि उनले सिंहासन त्यागेका हुन् । यसमा कुनै दोराय छैन । हिजोसम्म एकलाख ल्होछाम्पाको उत्पीडन र बर्बादीको घटनालाई दबाउन देशमा कहिले परिवर्तनको नाटक, कहिले सकल राष्ट्रिय खुसियाली र कहिले गेलेफू माइन्फुल्नेस् शहर निर्माणको ढोलपिटिरहेका थिए ।
१९९० मा दक्षिण भुटानी नागरिकलाई आतङवादी,ङलोप र देश द्रोही भन्ने भुटान सरकारको अहिले संसारको नजरमा स्वयं आतङवादी र तानाशाहको रूपमा चर्चा चुलिएको छ । भगवान बुद्धले भनेका छन्, सत्य बोल्नु, हिंसा नगर्नु । अर्काको कुभलो नगर्नु । अपराध नगर्नु । कसैलाई नढाँट्नु । अर्कालाई बिगार्न खोज्नेले आफैँ बिग्रन तयार हुनुपर्छ । अर्कालाई पुर्न खनेको खाल्डोमा आफैँ जाकिनु पर्छ । त्यही कुरो सत्य साबित भयो । दक्षिणका नागरिकलाई पुर्न खनेको खाल्डोमा अहिले भुटान स्वयं परेको छ । सत्य डक्दैन र झुटो तक्दैन भन्ने सिद्धान्त सार्थक भएको छ । शिशाको महलमा बसेर अर्कालाई ढुङ्गा हान्नुको परिणति भोग्दै छ,अहिले । सूर्यको प्रकाशलाई हत्केलाले छेक्छु भन्ने मूर्खता गरेकै कारण आज संसारमा नाङ्गिएको छ ।
कुरो रह्यो देशमा कुनै पनि समुदायमाथि भेदभाव गरिएको छैन,भन्ने । सरकारले सबै समुदायलाई समान व्यवहार गरेको भनेर शासकका केही कथित हनुमानहरूको भनाइहरूले अहिले सामाजिक सञ्जाल भरिएका छन् । तिनीहरूको भनाइमा न कुनै सत्यता छ न वास्तविकता नै । यदि भुटानले कुनै पनि समुदायमाथि विभेद र असमानताको व्यवहार गरेको छैन भने देशको कुल जनसंख्याको २३ प्रतिशत नेपाली भाषी समुदायबाट खोइ जिल्ला अधिकारीहरू ? भुटानमा २० वटा जिल्ला छन् । ती जिल्लामा एउटा पनि नेपाली भाषी प्रमुख जिल्ला अधिकारी छैन ।
सचिवालयहरूमा एक जना पनि नेपाली भाषी सचिव छैन । त्यसै गरी सेना र पुलिस प्रशासन जस्तो महत्त्वपूर्ण विभागहरूमा खै नेपाली भाषी नागरिकको नियुक्ति । वर्षौँदेखि स्कुलमा पढाइँदै ल्याएको नेपाली भाषा र सांस्कृतिक पहिरन कहाँ पुर्यायो ? के यही हो समानता । यही हो विभेद रहित व्यवहार । ९० मा देश निकाला गरिएका दक्षिण भुटानी नागरिकका देशभित्रै रहेका सदस्यहरूको नागरिकता खोसिएको छ । जागिर लुटिएको छ । घरजग्गा जमिन सबै राष्ट्रियकरण गरिएको छ । एउटा गाउँबाट अर्को गाउँमा जान आउनमा प्रतिबन्ध लगाइएको छ ।
स्वास्थ्य,शिक्षा र रोजगारीका सुविधाहरूबाट बञ्चित गरिएको छ । उनीहरूको समस्याबारे बोल्ने न कुनै स्वतन्त्र नागरिक समाज नै छ । न कुनै स्वतन्त्र समाचार संस्थाहरू नै । जे छन् जति छन् सबै सरकारका नियन्त्रण र प्रभावमा छन् । नर्थकोरिया खुल्ला तानाशाह हो भने भुटान मौन तानाशाह हो । यति मात्र फरक छ कि नर्थकोरिया शक्ति सम्पन्न राष्ट्रहरूसँग पौंठेजोरी खेल्ने हिम्मत गर्छ, साहस गर्छ र नै रातो सूचिमा परेको हुनसक्छ तर भुटान भने आफ्नै नागरिक विरुद्धका हरकत र षड्यन्त्रका कारण रातो सूचिमा परेको सोझै अनुमान गर्न सकिन्छ ।
भुटानको वर्तमान कथित प्रजातान्त्रिक सरकारका काम कार्यवाहीप्रति नागरिकलाई असहमति जनाउने अधिकार छैन । आजभन्दा ८ वर्ष अघि एक जना युवाले सरकारका कार्यप्रति असहमति जनाएकै कारण ८ वर्षसम्म जेलको प्रताडना भोग्नुपरेको घटनाले अहिले सामाजिक सञ्जाल तातेको छ । उनले चुनावी प्रणाली ठिक नभएको भनेका थिए । त्यति बोलेकै कारण त्यहाँको शासक डगमगायो । ती युवकलाई जेलमा हाल्यो । जसले ८ वर्ष लामो जेल भोग्नुपऱ्यो भने आफै सोच्नु होस् कि भुटानको प्रजातान्त्रिक प्रणाली कतिको निरीह र कमजोर छ भन्ने ।
चाहे दयाले होस् वा अन्तर्राष्ट्रको आँखामा छारो हाल्न कै लागि किन न होस् । अहिले ३ जना नेपाली भाषीलाई मन्त्री पनि बनाइएको छ । २३ प्रतिशत जन संख्या रहेको नेपाली भाषी समुदायबाट ३ जनालाई मन्त्री बनाइनु नराम्रो होइन । त्यसमा पनि विदेश मन्त्रीजस्तो गरिमामय मन्त्रालय नेपाली भाषी दिननाथ ढुङ्गेललाई प्रदान गरिनु त्यो रहरले होइन बाध्यताले हो । हो सरकारले ३ जना नेपाली भाषी समुदायका मानिसलाई मन्त्री बनाइएको छ । तर एउटा स्कुलको साधारण शिक्षकको जति पनि अधिकार ती मन्त्रीहरूलाई छैन । उनीहरू कुनै पनि कुराको निर्णय गर्न सक्दैनन् । राजाले जे भनेका छन् र जे निर्देश गरेका छन्,त्यस अतिरिक्त उनीहरू न केही बोल्न सक्छन् न केही गर्न नै । रातो काम्नी र पातङले सजिएर पनि उनीहरूको न कुनै हैसियत छ न कुनै शक्ति नै । संसारको आँखामा छार्रो हाल्नकै लागि तिनीहरूलाई मन्त्री बनाइको छ । एउटा कठपुतलीको रूपमा उनीहरूलाई उपयोग मात्र गरिएको भन्ने आम नागरिकहरूको दाबी छ ।
यो त भयो रातो सूचिमा सुचिकृत हुनु र अमेरिकी यात्रामा प्रतिबन्ध लाग्नुको कारणहरू । अब यसको समाधान के हुनसक्छ त ? समाधान त्यति अप्ठ्यारो र गहन पनि छैन । सबभन्दा पहिला भुटानले अमेरिकासँग कूटनैतिक सम्बन्ध स्थापना गर्नुपर्दछ । दोस्रो-भूटानले नेपालमा रहेका भुटानी नागरिकहरू जो भुटानै जाने प्रतीक्षामा विदेशका सुनौला अवसरहरू त्यागेर शरणार्थी शिविर बसेका छन् तिनीहरूको समस्या समाधान र व्यवस्थापन गर्नुपर्दछ । तेस्रो भुटानका जेलहरूमा कैद गरिएका राजनैतिक बन्दीहरूको शीघ्र रिहाइ र तिनीहरूको पुनर्स्थापनामा जोडिदिनुपर्छ ।
पाँचौँ पुनर्वासमा गएका पूर्व भुटानीहरूलाई भुटानमा रहेका आफन्तहरूसँग भेटघाटको अवसर मिलाउनु सक्नुपर्छ । पुनर्वासमा गएका प्राय सबै नागरिकलाई निःशुल्क भुटान भ्रमण गर्ने वातावरण सृजना गरिनुपर्छ । छैटौँ १९९० को नरसंहारको निष्पक्ष छानबिनका लागि अन्तर्राष्ट्रिय स्तरको एउटा समिति गठन गरिनुपर्छ र छानबिन आयोग वा समितिको प्रतिवेदन अनुसार दोषीलाई निर्मम कारबाही र निर्दोषलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ । सातौँमा चाहे पुनर्वास कार्यक्रमको अभियानमार्फत विदेश गएका हुन् वा अवसरको खोजीमा विदेश गएका हुन् ती सबैलाई गैर आवासीय भुटानीको रूपमा मान्यता दिइनुपर्छ ।
माथिका समस्याको समाधान नै भुटानलाई सुध्रिने र सचिने राम्रो अवसर हो । चाँडै न सचिने र नसुध्रिने हो भने भुटानले अझै गम्भीर शङ्कटहरूको सामना गर्न तयार हुनुपर्नेछ ।