विपिन जोशीबारे इरानका परराष्ट्र मन्त्रीसँग कुरा भएको छ : मन्त्री डा.देउवा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् ।
बिहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्र मन्त्रीले विपिन जोशीको बारेमा गम्भीर भएर लागेको जानकारी गराएको बताइन् ।
उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरेँ । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईँहरूको र थाईको एक जनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन । केही सूचनाहरू मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नु भएको थियो ।’
यसको साथै, उनले ओमानसँग कागजको विक्रीलाई व्यावसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुई वटा एमओयुहरु साइन भएको पनि बताइन् ।
उनले भनिन्, ‘हामीले ओमानसँग दुई वटा एमओयुहरु पनि साइन गरेका छौ । एउटा हाम्रो कागजहरूलाई कसरी विक्री र व्यावसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौ । पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ ।’
यसको साथै डाक्टर, इन्जिनियरहरू जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ । यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उनको भनाई छ ।
यस्तै, उनले घरेलु कामदारको रुपमा महिलाहरू जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन् ।
परराष्ट्र मन्त्री ओमानका विदेश मन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन् ।