११ किलो ४ सय ग्राम चरेससहित एक जना पक्राउ
पर्सा । पर्सा प्रहरीले लागु औषध चरेस जस्तो देखिने पदार्थसहित एक युवतीलाई पक्राउ गरेको छ ।
बुधबार राती चेकजाँचको क्रममा बारा प्रसौनी २ कि हाल वीरगन्ज महानगरपालिका १६ बस्दै आएकी ३० वर्षीया आरती यादवलाई ११ केजी ४ सय ग्राम लागु औषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टका अनुसार वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेटमा चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा पक्राउ परेकी आरती यादवले बोकेको ब्यागमा रातो रङ्गको ग्यालेन भित्र प्लास्टिकमा सानो सानो पोका पारी लुकाएको अवस्थामा चरेस जस्तो देखिने पदार्थ फेला पारेको हो ।
बरामद गरिएको पदार्थ सहित आरतीलाई नियन्त्रणमा लिएर लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरीले जनाइएको छ ।