अमेरिकामा नेपाली विद्यार्थी दाल चामल माग्नै पर्ने अवस्थामा पुगेका हुन् ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पाँच वर्ष अगाडि पनि झन्डै झन्डै यस्तै भएको थियो। अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूका बारेमा कथित भ्रम सृजना गरिएको थियो। विश्व कोभिड-१९ को मारमा थियो। चीनबाट शुरु भएको कोरोना डढेलो झैँ न्यु योर्क सम्म आइपुगेको थियो।
अन्योल थियो, स्कुल कलेज बन्द थिए। अत्यावश्यक बाहेक काम बन्द थियो। सरकारले नै सतर्कता अपनाउन र घर बस्न भनेको थियो। लास गनेर दैनिकी बितिरहेका थिए। मनमा त्रास थियो। सँग सँगै केही सामाजिक अभियन्ता बन्नेहरूले झन् अत्यास लगाउने काम गरेका थिए।
केहीले अमेरिकामा रहेका नेपाली विद्यार्थी भोक भोकै भए भन्दै दाल चामलका पोकाहरू ढोकामा राख्दै हामीले राहत बाट्यौ हामी जस्तो समाजसेवी को छ? ज्यानको बाजी लगाएर काम गरेका छौ भन्दै सामाजिक सञ्जालमा पोस्टिन्थे। जवकी सरकारी निकायले टोल टोलमा दैनिक रुपमा खानाको व्यवस्था गरेका थिए। तत्कालै शैक्षिक शुल्क तिर्नु पर्ने थिएन, घरको मोर्गेज र डेरा भाडा तत्काल नतिरे पनि हुने गरी सरकारले व्यवस्था गरेको थियो।
अमेरिकामा आएको विद्यार्थीहरू दाल चामलकै समस्यामा परे भन्ने नकारात्मक सन्देश गयो नेपालमा भएका अभिभावक नै आत्तिन थाले खासमा त्यस्तो हैन भन्दै केही विद्यार्थी पत्तिकारको सम्पर्कमा आएका थिए।
अमेरिकामा सत्ता फेरिए पछि, धेरै कुरा परिवर्तन हुन खोज्दै छन्। चुनाव अगाडि जनता सँग भोट माग्न जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले जे जे बाचा गरेका थिए सोही अनुसार शपथग्रहण लगत्तै उनले एक सय मिटर दौडको शैलीमा आदेशहरू जारी गरेका छन् र यो क्रम निरन्तर छ।
अमेरिकाको कानुनले श्रम स्वीकृति विना यहाँ काम गर्न दिँदैन। यो अमेरिकामा मात्र होइन प्रायशः विश्वका सबै देशका साझा कानुन हुन्। हरेक देशको आप्रवास नीति हुन्छ। यसै गरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पनि हप्तामा बीस घण्टा भन्दा धेरै काम गर्न पाउँदैनन्। त्यो पनि कलेज भित्र मात्र हो।
राष्ट्रपति ट्रम्पले अहिले आफ्नो बाचा अनुसार नै कागजपत्र विहीन र अपराधीहरूलाई देश निकालाको अभियान नै चलाएका छन्। बाइडेन प्रशासनले सन् २०२४ मा दश लाख भन्दा धेरै कागजपत्र विहीन र अपराधीहरूलाई देश निकाला गरेको तथ्याङ्क गत डिसेम्बर महिनामा सार्वजनिक भएको थियो। राष्ट्रपति ट्रम्पलाई त्यो संख्या कटाउनु पर्ने नैतिक दबाब छ। त्यसैले उनी आप्रवासन र भन्सार प्रवर्तन (आइस) को गति आफ्नो आदेशकै शैलीमा बढाउन चाहिँ रहेका छन्।
अधिकारीहरुले अवैध रुपमा अमेरिका प्रवेश गरेका, कागज पत्र विहीन र अपराधमा संलग्नलाई लक्षित गर्दै सर्च अभियानलाई अगाडि बढाएको छ। हतकडी र जन्जिर लगाएर सेनाका विमानमा देश निकाला गरिएका भिडियो र फोटो सार्वजनिक समेत भएका छन्।
यही क्रममा अमेरिकामा रहेको नेपाली समाजमा फेरि दाल चामल राहत अभियानले तीव्रता पाएको छ। अनि टेक्ससमा तीन हजार विद्यार्थी भोक भोकै भनेर सामाजिक सञ्जाल रङ्गिएका छन्। त्यसमा न कुनै तथ्याङ्क छ नत आधिकारिक निकायको भनाइ नै। यस्ता सामाग्रीले विद्यार्थी र अभिभावक आजित भएका छन्। केही विद्यार्थीहरू हाम्रो बदनाम भयो भनेका छन्।
दाल चामल नै किन्न नसक्ने अवस्थामा पुगेका विद्यार्थीले अनुदानमा पाएको त्यो दाल चामल कहाँ लगेर पकाएर खाने हुन? डेरा भाडा कसरी तिर्ने हुन? कलेजको फी कसरी तिर्ने हुन? राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल शुरु गरेको तीन साता पुग्दा नपुग्दै विद्यार्थीमा यस्तो समस्या आएको हो भने चार वर्ष के गरी चलाउने हो?
विद्यार्थीलाई दाल चामल सहयोग अभियान शुरु गरेको नेपाली समाज टेक्सस (एनएसटी) का महासचिव विजय भुसाल सबै कुराको जिम्मा आफूहरूले लिन नसक्ने बताउँछन्।
‘यो राहत हो सबै दिन्छौ भनेका होइनौ। पिर मर्का परेको छ । हामीले विद्यार्थीमा रहेको त्रास हटाउन मद्दत गरेका हौ।’ समाज टाइम्स सँग भुसालले भने, ‘नौ सय ६५ जनाले खाद्यान्नको लागि दर्ता गरेका छन्, पाँच सय ३२ जनालाई वितरण गरी सक्यौ।‘
एनएसटी महासचिव भुसालले आफूहरूले अनलाइन फारम भराएर, विद्यार्थी हो होइन भन्ने पहिचान गरेर, अझ सवारी साधन नहुनेलाई कोठा कोठामा खाद्यान्न पुर्याउने गरिएको बताए।
उनले गोपनीयताका लागि त्यसरी खाद्यान्न अनुदान लिने विद्यार्थीहरूको नाम सार्वजनिक नगरिएको पनि बताए।
‘विद्यार्थीहरूमा डर त्रास छ। अपराध गर्नु भएको छैन भने डराउन पर्दैन भनेका छौ।‘ महासचिव भुसालले भने, ‘खाना सँगै हामीले सामाजिक करण गरेका हौ। डर हटाउन खोजेका हौ। कोही मन्दिरमा आउँछ, समाज सँग जोडिन्छ भने त्यो राम्रो हो।‘
उनले अभियान शुरु नगर्दा पनि समाजले केही गरेन भनेर आलोचना भएको र अहिले एक दुई जनाले विरोध गरेको बताए।
‘नगर्दा पनि समाजले केही गरेन भन्ने पनि थियो हामीले शुरु गरे पछि विरोध गरे । शुरुमा हामीलाई पचासौँ जनाले फोन गरेर किन केही नगरेको भन्ने पनि थिए।‘
टेक्सस स्टेट युनिभर्सिटीमा विद्यावारिधि विद्यार्थी विधुत लामिछानेले बाहिर भनिए जस्तो विद्यार्थीको भयावह स्थिति नरहेको बताए।
‘कसैले ल्याउँछु भने पछि नल्याऊ भन्नु भएन, तर बाहिर धेरै हल्ला भएछ।‘लामिछानेले समाज टाइम्स सँग भने, ‘शुरुमा मलाई नै प्रस्ताव आएको थियो, मैले चिनजानका विद्यार्थीहरूलाई सोधे, उनीहरुले कसैले दिन्छ भने किन नलिनु भने त्यस पछि यही खाद्यान्न आएको हो।‘
सामाजिक सञ्जालमा सार्वजनीक भिडियो अनुसार एक जनाका लागि १० पाउन्ड चामल, १-२ पाउन्ड दाल , मसलाको एक दुई पोका र एउटा सानो बोतल तेल विद्यार्थीलाई दिने गरिएको छ।
‘कलेज मै पनि बेला बेलामा विद्यार्थीहरूलाई विभिन्न संस्थाहरूले खाना खुवाउँछन्, हामी पनि जान्छौ तर विद्यार्थीलाई भोकमरी लागेर त्यसरी खाना खुवाइएको होइन।’ लामिछानेले भने, ’कलेजमा त्यसरी खाना खानेको लाइनमा यहाँ कै विद्यार्थीहरू पनि हुन्छन्।
उनले अमेरिकामा रहेका नेपाली विद्यार्थीमा खानकै समस्या भएको बिचल्लीमा नै परे भनेर भन्न नमिल्ने बताए।
‘नयाँ विद्यार्थीलाई कहिले काहीँ मेरै कोठामा बोलाएर खुवाउँछु, उनीहरू बरबाद भएर खुवाइएको होइन’ लामिछानेले भने।
‘एउटा विद्यार्थीले वर्षमा १०-१२ हजार अमेरिकी डलर सम्म फिका लागि खर्च गर्छन्। कतिपयले कलेजमै काम पाउँछन्, केहीलाई अलिक बढी पैसा कमाऊ भन्ने पनि होला र सानो सङ्ख्यालाई बाहिर काम गर्नै पर्ने बाध्यता होला।‘ उनले भने।
‘कसैले सम्बन्धको रुपमा दिन्छ भने लिँदा हुन्छ, यहाँका कम्युनिटी र विद्यार्थी बिचको सम्बन्ध प्रगाढ पनि बनाउँछ, तर अरूले भने जस्तो खानै नपाएर बस्ने विद्यार्थीको अवस्था छैन, केही समाजसेवी संस्था भन्नेहरूले फारम भराएर १ बोरा चामल बाँड्नु पर्ने स्थिति पनि छैन। यहाँ व्याचलर्स पढ्न आएका विद्यार्थीहरू १० १५ हजार डलर फी मात्रै तिर्छु वर्षको भनेर आएका हुन्छन्। र जानकारी रहोस्, अमेरिका क्याम्पस भन्दा बाहिर विद्यार्थीले पहिला पनि काम गर्न पाउँदैन थिए, अहिले पनि।’ लामिछानेले भने।
यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालले दाल चामल नै माग्ने गरी विद्यार्थीहरूको अवस्था बिग्रिएको भन्ने आफूले जानकारी नपाएको बताए।
‘सम्पर्क आउनु भएका विद्यार्थीहरूलाई दाल चामल नै दिनुपर्ने अवस्था त आएको छ जस्तो मलाई पनि लाग्दैन कुरा बुझ्दा .. तर केही परामर्श मागेको खण्डमा आफूले जानेको र बुझेको सम्म चाहिँ दिने गरेका छु।‘ खनालले भने, ‘यति चाहिँ ढुक्क सँग भन्न सक्छु कि .. खाने कुरानै बाँड्ने गरी गारो चाहिँ भएको छैन । त्यसैले समाचार लेख्दा वा प्रसारण गर्दा संवेदन शील कुरामा ध्यान पुराउनु पर्छ जस्तो लाग्छ ।‘
गलत सन्देश जाने भयो : डिल्ली भट्ट
डेढ दशक भन्दा बढी समय देखि न्यु योर्कमा केन्द्रित रहेर अमेरिकामा कानुन व्यवसाय गर्दै आएका भट्ट ल एसोसिएसनका अधिवक्ता डिल्ली भट्टले विद्यार्थीहरूमा गरिएको पछिल्लो टिप्पणीले गत सन्देश जाने बताए।
‘राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशबाट अन्तर्राष्ट्रिय विद्यार्थीलाई कुनै असर गर्दैन, विद्यार्थीहरू त्यसरी डराउनु पर्ने छैन।’ समाज टाइम्स सँग भट्टले भने, ‘ नियम परिवर्तन भएको छैन पहिला जे हो अहिले पनि त्यही हो।‘
‘पहिला पनि कलेज भन्दा बाहिर काम गर्न पाइँदैन थियो अहिले पनि त्यस्तै हो। यदि कुनै विद्यार्थीलाई साँच्चिकै आर्थिक रुपमा गाह्रो छ भने इकोनोमिक हार्डसिप वर्क अथोराइजेशन लागि आफ्नो कलेजमा कुरा गर्नु पर्छ।‘ उनले सुझाव दिए।
भट्टले यसरी दाल चामलले वितरणले गलत सन्देश जाने बताए।
‘यसले झन् सबै विद्यार्थीलाई असर पर्छ। ए नेपालका सबै विद्यार्थीले कानुन विपरीत काम गर्ने गर्दा रहेछ र अहिले समस्या भयो भन्ने हुन्छ, त्यस्तो सन्देश गयो भने नेपालकै लागि नकारात्मक असर पर्छ।‘ ‘अधिवक्ता भट्टले भने, ‘केहीलाई साँच्चिकै समस्या होला तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई नै असर पर्ने गरी कुनै आदेश आएको छैन, कुनै कानुन परिवर्तन भएको छैन।‘
के हो इकोनोमिक हार्डसिप वर्क अथोराइजेशन
एफ -१ विद्यार्थी भिसा धारकले परिस्थिति अनुसार केही प्रकारका कठिनाइहरूको लागि अनुरोध गर्न सक्छन्। यहाँ मुख्य विकल्पहरू छन्:
१, यदि एफ-१ विद्यार्थीले गम्भीर, अप्रत्याशित आर्थिक कठिनाइहरूको अनुभव गर्छ भने, तिनीहरूले आर्थिक कठिनाइको कारण खुलाएर लागि आवेदन दिन सक्छन्।
त्यसमा योग्य हुन कत्तिमा यी प्रक्रिया पुरा हुनु पर्छ।
कम्तिमा एक शैक्षिक वर्षको लागि एफ-१ भिषामा रहेको हुनुपर्छ। वित्तीय कठिनाइ अप्रत्याशित थियो भनेर ठोस प्रमाण दिनु पर्दछ।
क्याम्पसमा रोजगारी पर्याप्त छैन भनेर देखाउनुहोस्।
फारम आइ-७६५ मार्फत युइससीआइएस मार्फत इकोनोमिक हार्डसिप वर्क अथोराइजेशन लागि आवेदन दिनुहोस्।
२. स्वास्थ्य अवस्थाका कारण पढाइको भार घटाउन सकिने
यदि कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या छ भने, तिनीहरूले आफ्नो तोकिएको स्कुल अधिकारी (डीएसओ) बाट कम पाठ्यक्रम भार (आरसीएल) को लागि आवेदन दिन सक्छन्। तिनीहरूले चिकित्सा कागजात बुझाउनु पर्दछ।
३. परिस्थित जन्य कठिनाइ
यदि कुनै एफ-१ विद्यार्थीको स्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर थियो भने विद्यार्थीले उनीहरूले पुनर्स्थापितको लागि आवेदन दिन सक्छन् (जस्तै, बिरामी, आर्थिक कठिनाइ)।