अर्काको पीडामा हाँस्नेकी सहयोग गर्ने?
तारा भट्टराई
न्यु योर्क, अमेरिका / आफू जन्मिएको र हुर्किएको देश सबैलाई प्यारो लाग्छ। टाढा जान कुनै पनि व्यक्तिलाई सहज हुँदैन। आफ्नो जन्मभूमि छोड्दै गर्दा सबैका आँखा रसाएका होलान्, र मन भित्रभित्रै भक्कानिएको पनि थियो होला। मेरो मनमा पनि त्यो पीडा आजसम्म ताजै छ। उमेरले दुई बीस टेक्नै लाग्दा, मलाई पनि आफू जन्मिएको र हुर्किएको ठाउँबाट टाढा हुन पटक्कै मन थिएन। तर, मेरा पनि आफ्नै बाध्यता थिए, जसका कारण म पनि जन्मभूमिबाट टाढा अमेरिकामा छु।
अमेरिका पुग्नु मान्छेको संघर्षको अन्त्य होइन, बरु नयाँ सङ्घर्षहरूको सुरुवात हो। यहाँको जीवन सजिलो छैन। नयाँ भाषा सिक्नुपर्ने, काम खोज्नुपर्ने र कहिलेकाहीँ अनेकौँ साना कामहरू गरेर पनि टिकिरहन निक्कै कठिन हुन्छ। कानुनी स्थिति स्पष्ट नभएका कारणले न्यून तलबको काम गर्नुपर्ने, लामो समयसम्म श्रम गर्नुपर्ने र यसका साथै स्वदेशमा रहेका परिवारलाई आर्थिक सहायता पठाउने जिम्मेवारीले आप्रवासीहरूको जीवन झनै जटिल बनाएको छ।
तर, अमेरिकामा धेरै मानिसहरूले आप्रवासीहरूप्रति गलत धारणा बनाएका छन्। उनीहरू सोच्दछन् कि आप्रवासीहरू यहाँ काम खोस्न, नराम्रो काम गर्न, वा अनेक स्रोतहरूको आर्थिक फाइदा लिन आएका हुन्। तर वास्तविकता त्यो होइन। आप्रवासीहरू नराम्रा मानिस होइनन्। उनीहरू यहाँ आफ्नो मात्र भविष्य बनाउने होइन, यो देशलाई पनि समृद्ध र बलियो बनाउन योगदान पुर्याइरहेका छन्।
उनीहरू अलिकति राम्रोसँग बाँच्न र जीवनमा केही राम्रो गर्न, आफ्ना परिवार र नातागोतालाई सहयोग गर्न यहाँ आएका हुन्। उनीहरूको जन्मभूमिमा चरम गरिबी, बेरोजगारी, युद्ध, र प्राकृतिक विपत्ति जस्ता अनेक समस्याका कारण बाँच्छु भन्ने आशा मरेको थियो। दिनरात नभनी घना जङ्गल, मरुभूमि, र सागर पार गरेर जोखिमपूर्ण यात्रा गरेर यहाँसम्म आइपुग्नु उनीहरूको रोजाइ होइन, बाध्यता थियो। जीवनका लागि विकल्प खोज्दै गर्दा उनीहरू यहाँसम्म आइपुगेका हुन्।
अमेरिकामा आइपुगेका आप्रवासीहरूको कथा, संघर्ष, र आकांक्षाहरू विभिन्न छन्, चाहे उनीहरू डिभी परेर आएका हुन् वा अन्य कानुनी तथा गैर कानुनी बाटाहरू प्रयोग गरेर। यहाँ भित्र हरेकले आफ्नो भविष्य निर्माण गर्ने सपना बोकेर आएका छन्। कतिले वकिलको सहयोगमा समयमै कानुनी स्थिति स्पष्ट गर्न सफल भएका छन् भने कतिपय अझै कागज बनाउने प्रक्रियामा छन्। केही भाग्यमानी शरण पाएका छन्, तर धेरै जना अझै कानुनी अन्योलमा परिरहेका छन्।
पछिल्लो समयमा, ट्रम्प प्रशासनको कठोर आप्रवासी विरोधी नीतिले आप्रवासी समुदायलाई झन् ठूलो चुनौतीको सामना गर्न बाध्य बनायो। देश निकाला गर्ने नीति दिनदिनै निक्कै कडा हुँदै गइरहेको छ। आप्रवासीहरूलाई अपराधीका रूपमा देखाउने र उनीहरूमाथि धरपकड गर्ने क्रम बढेको छ। हिरासतमा राख्ने, कानुनी प्रक्रिया बिना जबरजस्ती देश निकाला गर्ने जस्ता गतिविधिले आप्रवासी समुदायको मनोबललाई गहिरो प्रभाव पारिरहेको छ।
यो समस्या अमेरिकी राजनीतिमा मात्र सीमित छैन। विश्वभर आप्रवासीहरूको मानवअधिकारमाथि प्रश्न उठाउने यस्ता नीतिहरूले गम्भीर सामाजिक र राजनीतिक बहस सिर्जना गरिरहेको छ। ट्रम्पले आप्रवासी मुद्दालाई आफ्नो राजनीतिक एजेन्डाको रूपमा प्रयोग गर्दै घरेलु समस्याहरू ढाकछोप गर्ने र मतदातालाई आकर्षित गर्ने रणनीति अपनाए। उनले आप्रवासीहरूलाई दोषी, अपराधी, र देशका समस्याका कारणका रूपमा चित्रण गरेर आप्रवासी विरोधी भावना भड्काइरहेका छन्।
हो, गैर कानुनी रुपमा बस्ने आप्रवासीहरूलाई अघिल्ला प्रशासनहरूले पनि डिपोर्ट गर्दै आएका थिए। तर त्यो प्रक्रिया प्रायः व्यवस्थागत रूपमा गरिन्थ्यो र सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चहरूमा यसबारे ठूलो प्रचार हुँदैन थियो। सन् २०२४ मा मात्र बाइडेन प्रशासनले दश लाख भन्दा बढी आप्रवासीलाई डिपोर्ट गरेको डिसेम्वरमा सार्वजनिक गरेको थियो।
यस अगाडि सन् २०१० मा बाराक ओबामाको पालामा आठ लाख भन्दा बढीलाई डिपोर्ट गरिएको बताइएको थियो।
ट्रम्प प्रशासनले भने यसलाई राजनीतिक मुद्दा बनाएर प्रचारमा ल्यायो। चुनावी सभाहरूमा, सामाजिक सञ्जालमा, र मिडियामा आप्रवासीहरूलाई अपराधीका रूपमा चित्रण गर्दै, डिपोर्टेसनलाई आफ्नो कठोर आप्रवासन नीतिको “उपलब्धि” को रूपमा प्रस्तुत गरियो। यो मात्र कानुनी प्रक्रिया नभई एक राजनीतिक हतियार बनेको देखिन्छ, जसले समाजमा आप्रवासी विरुद्ध नकारात्मक भावना फैलायो।
अघिल्लो प्रशासनहरूको दृष्टिकोण तुलनात्मक रूपमा कम सार्वजनिक थियो। कानुनी प्रक्रिया भए पनि यसको प्रचार-प्रसारले आप्रवासी समुदायलाई डरलाग्दो वातावरण सिर्जना गर्ने र समाजमा विभाजन ल्याउने काम गर्दैनथ्यो। तर ट्रम्प प्रशासनले यसलाई चुनाव जित्ने र आप्रवासी विरोधी समर्थकहरूलाई उत्साहित गर्ने साधनका रूपमा प्रयोग गर्यो। यसले आप्रवासीहरूलाई मात्र होइन, आप्रवासनका मुद्दाहरूलाई पनि राजनीतिकरण गर्यो।
हो, यो केवल अमेरिकी आप्रवासीहरूको मात्रै कुरा होइन। संसारभर छरिएका नेपालीहरू र अन्य आप्रवासी समुदायले पनि यो संघर्ष र पीडालाई गहिरो रूपमा महसुस गरेका छन्। आफ्नो जन्मभूमि छोड्नु, त्यहाँ बुनेका सपनाहरू र सम्बन्धहरूलाई परित्याग गर्नु कुनै सजिलो निर्णय होइन। तर बाध्यताले गर्दा, चाहे रोजगारीको खोजीमा होस्, चाहे युद्ध, गरिबी, वा प्राकृतिक विपत्तिको कारण, हजारौँ मानिसहरू नयाँ भविष्यको खोजीमा मान्छे अनिश्चित यात्रामा निस्किन्छन्।
नयाँ देशमा पुगेर, भाषा, संस्कृति, र समाजको नयाँ संरचनासँग सामञ्जस्य गर्नु चुनौतीपूर्ण हुन्छ। यससँगै कानुनी प्रक्रियाहरू, कामको खोजी, र आर्थिक स्थिरता कायम राख्ने संघर्ष पनि जोडिन्छ। यी सबै कठिनाइहरू सहेर पनि आप्रवासीहरूले आफू बसेको समाजमा ठूलो योगदान पुर्याइरहेका हुन्छन्। चाहे श्रममार्फत होस्, या नयाँ व्यवसाय खोल्लेर होस्, वा सांस्कृतिक विविधता थपेर होस्।
तर, दुःखको कुरा, यी संघर्षहरूलाई धेरै मानिसहरूले बुझ्दैनन्। धेरै देशहरूमा आप्रवासीहरूलाई समस्याको जडका रूपमा चित्रण गरिन्छ। उनीहरूको योगदान भन्दा पनि पहिले उनीहरूको उपस्थिति र अस्तित्वमाथि नै प्रश्न उठाइन्छ। यो गलत बुझाइ मात्र होइन, अहिले यो संसारभरका आप्रवासीहरूको साझा पीडा बनेको छ।
यति बेला नेपाली समुदायका नाममा खोलिएका सामाजिक सङ्घ-संस्थाहरूले सक्रिय रूपमा एक अर्कोलाई सहयोग गर्नुपर्ने हो तर संस्थाहरूले कुनै काम गरिरहेका छैनन्। नेपाली समाज पनि पुरै विभाजित छ। अर्कोलाई परेको दुःखमा सघाउनुको सट्टा पीडामा रमाउँछ। ताली पिट्छ।
नेपाली समुदायमा नाम मात्रका संस्थाहरू खोल्नु मात्र पर्याप्त होइन। चाहिएको बेलामा कानुनी, आवास, स्वास्थ्य, र अन्य सेवाहरूको जानकारी नेपाली भाषामा प्राप्त गर्न समेत गाह्रो छ। समुदायभित्रै एक सहायता केन्द्र स्थापना गरी कानुनी परामर्श, आप्रवासी सहायता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ। नेपाली संस्थाहरूले अमेरिकी गैर-नाफामुखी संस्थाहरू (Nonprofit Organizations) सँग सहकार्य गरी नेपाली आप्रवासीहरूलाई कानुनी सहयोग तथा अन्य सहायता प्राप्त गर्न पहल गर्नुपर्छ।
अमेरिकाले पनि आप्रवासीहरूको संघर्ष र योगदानलाई बिर्सनुहुन्न र सम्मान गर्नुपर्छ। यो देशको समृद्धि आप्रवासीले पुर्याएको योगदानले नै सम्भव भएको हो। अरबपतिहरू , व्यापारिक र वित्तीय क्षेत्रमा ठूलो प्रभाव भएका व्यक्तिहरू प्रमुख सरकारी पदमा वा सरकारका उच्च पदमा नियुक्त हुँदा नीति निर्धारणमा धनी वर्गको मात्रै पक्षपोषण हुने हो कि जस्तो देखिन्छ। हुन पनि यहाँको आप्रवासन नीतिमा वर्गीय दृष्टिकोणबाट उच्च शिक्षित र धनी आप्रवासीहरूलाई सहज भिसा वा नागरिकता दिइन्छ, तर श्रमिक वर्गका आप्रवासीहरूका लागि प्रक्रिया एकदमै कठिन छ।
न्यून पारिश्रमिकमा श्रम गरिरहेका आप्रवासीहरूको संरक्षण गर्नुपर्ने ठाउँमा कर्पोरेट जगतको स्वार्थमा नीति निर्माण केन्द्रित हुन पुगेको पनि विज्ञहरूले नबताएका हैनन्।
त्यसैले अब अमेरिकालाई साँच्चिकै सुन्दर बनाउने हो भने , चाँडै सुधारिएको आप्रवासन नीति बनाएर शरणार्थी र कागजपत्र विहीन आप्रवासीहरूका लागि भने देशमा श्रमिक वर्गको आवश्यकता महसुस गर्दै अलिकति दयालु र लचिलो हुने व्यवहारिक नीति लागू गर्नुपर्छ। केवल धनी वर्गकै हितमा नभई सम्पूर्ण आप्रवासीहरूको हितमा कार्य गर्नुपर्ने हुन्छ। किनकि दशकौँ यहाँ बसिसकेका आप्रवासीहरू समाजको अभिन्न हिस्सा हुन्, र उनीहरूको कथा समाप्त भैसकेको छैन।