न्यु जर्सीमा सम्पन्न गार्डेन स्टेट च्याम्पियनसिपमा च्याम्पियन मार्शल आर्ट्सलाई चार पदक
न्यु जर्सी/ अमेरिकाको न्यु जर्सीमा सम्पन्न गार्डेन स्टेट कराते च्याम्पियनसिपमा च्याम्पियन मार्शल आर्ट क्लब युएसएले दुई रजत सहित चार पदक जितेको छ। च्याम्पियन मार्शल आर्ट दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको कराते स्कुल हो।
आइतबार भएको च्याम्पियनसिपमा प्रशिक्षक सुनिल लामाका छोरा याङटेन लामाले दुई पदक जिते। उनले १० देखि ११ वर्ष उमेर समूहमा कुमितेमा रजत र कातामा कांस्य पदक जिते। यस्तै राईदेन थापा मगर पनि रजत पदक जिते। उनले पाँच वर्ष मुनिको शुरुवाती समूहमा रजत जितेका थिए।
यस्तै ६-७ वर्षको उमेर समूहमा अभीर महर्जनले कुमितेमा काश्य पदक जिते।
‘म हाम्रा खेलाडीको जीतमा खुसी छु’ प्रशिक्षक लामाले भने, ‘हाम्रा विद्यार्थीहरूले प्रतियोगिताभरि उत्कृष्ट एकाग्रता र दृढ सङ्कल्प प्रदर्शन गरे।’
उनले यी नतिजाहरूले उनीहरूले आफ्नो प्रशिक्षणमा लगाएको समर्पण र कडा परिश्रमलाई प्रतिबिम्बित गर्ने बताए।
न्यु योर्कको वुडसाइडमा अवस्थित च्याम्पियन मार्शल आर्ट्स क्लब युएसएले कराते कला मार्फत अनुशासन, सम्मान र दृढतालाई प्रवर्द्धन गर्दै सबै उमेरका खेलाडीहरूलाई प्रशिक्षण दिँदै आएको छ।