न्यु जर्सीका पूर्व अमेरिकी सिनेटर बब मेनेन्डेजलाई घूसखोरीको आरोपमा ११ वर्षको जेल सजाय

न्यु योर्क / ७१ वर्षिय न्यु जर्सीका पूर्व अमेरिकी सिनेटर बब मेनेन्डेजलाई न्यूयोर्कको संघीय अदालतले घूसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि ११ वर्षको जेल सजाय सुनाइएको छ।
गत जुलाईमा, एक निर्णायक मण्डलले विदेशी सरकारहरूलाई सहयोग गरेको बदलामा सुनका गहना , नगद र मर्सिडीज-बेन्ज सहित उपहार स्वीकार गरेकोमा मेनेन्डेजलाई १६ वटा मुद्दामा दोषी ठहराएको थियो।
अभियोजकहरूले अदालतका कागजातहरूमा पूर्व सिनेटरको अपराधको “दुर्लभ गम्भीरता” उल्लेख गर्दै कम्तिमा १५ वर्षको सजाय माग गरेका थिए। मेनेन्डेजका वकिलहरूले सामुदायिक सेवासँग जोडिएको छोटो सजायको माग गरेका थिए। न्यायाधीश सिडनी स्टेनले बुधवार सजाय सुनाएका हुन्।
बुधबार सुरुमा, मेनेन्डेजको मुद्दामा सँगै जोडिएका अन्य दुई जनालाई पनि सजाय सुनाइएको थियो। न्यु जर्सीका घर जग्गा कारोवारी फ्रेड डेब्स, जसलाई सिनेटरलाई सुन र नगद पुर्याएको अभियोग लगाइएको थियो। उनलाई सात वर्षको जेल सजाय र १.७५ मिलियन अमेरिकी डलर जरिवाना गरिएको थियो।
यस्तै मेनेन्डेज र इजिप्ट सरकारबीचको सम्झौतामा मध्यस्थता गरेको भनिएका इजिप्टियन-अमेरिकी व्यापारी वेल हानालाई आठ वर्षभन्दा बढी जेल सजाय सुनाइएको छ र १.२५ मिलियन डलर जरिवाना गरिएको जनाइएको छ।
नौ हप्ताको मुद्दा चलाइएपछि फैसला आएको हो । मेनेन्डेजले एक लाख भन्दा बढी मूल्यका सुनका गहना र चार लाख असी हजार भन्दा बढी नगद सहितका उपहारहरू स्वीकार गरेको प्रमाण एफबीआइका अधिकारीले मेनेन्डेजको घर भित्र फेला पारेका थिए।
मेनेन्डेजले घूसको बदलामा, इजिप्टको लागि लाखौं डलर अमेरिकी सहायता सुरक्षित गर्न मद्दत गरेको आरोप लगाइएको थियो।
मेनेन्डेजले बारम्बार गलत काम गरेको अस्वीकार गरेका छन् र दोषी फैसला विरुद्ध अपील गर्ने योजना बनाएको बताएका छन्।