ह्वाइट हाउसले भन्यो: गरिएका वाचाहरू पूरा भए,निर्वासन उडानहरू सुरु
वासिङ्टन/ ‘आफूले वाचा गरेझैँ, राष्ट्रपति ट्रम्पले संसारलाई कडा सन्देश पठाइरहेका छन्: गैर कानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्नेहरूले गम्भीर परिणामहरू भोग्नेछन्।’ शुक्रवार बिहानै ह्वाइट ह्याउसले सामाजिक सञ्जालमा पोस्ट गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।
राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।
’इतिहासकै सबैभन्दा ठुलो निर्वासन अभियान चलिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।
ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गरेका थिए।
बिहीबार न्यूजर्सीको नेवार्क शहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भने, “अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) का एजेन्टहरूले “एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिना कागजात वा अवैध कागजातबाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ।”
बाराकाका अनुसार छापामार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए ।
आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ ।
आइसिईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानून अनुसार निर्र्वासित गर्न सकिने गैर–नागरिकहरूलाई हिरासतमा राख्छ।
फोटो ह्वाइट हाउस