गैर आवासीय नेपाली नागरिकताका कार्यान्वयन लागि सभामुख सँग भेट

काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी अध्यक्ष रहेको समुहले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सभामुख सँग भेट गरेको छ।
हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि अध्यक्ष केसीको पहलमा भेट भएको सो समुहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘मंगलबार राति (माघ ८ गते ) भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैर आवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन अनुरोध गर्नुभयो ।’ विज्ञप्तिमा भनिएको छ।
भेटमा अध्यक्ष डा केसीले संविधानतः गैर आवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ तिनलाई प्राथमिकता दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस् भनेका थिए।
जवाफमा सभामुखले गैर आवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरूका बारेमा जानकारी लिई सकारात्मक रूपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
सो अवसरमा अध्यक्ष डा.केसीले संघको आगामी अक्टोबर ११ देखि १४, २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराएका थिए।
भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सह कोषाध्यक्ष कृष्ण प्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत सहभागी थिए ।
केसी समूहले सरकारले अध्यादेश ल्याउन अगाडि गृह र कानुन मन्त्रीलाई पनि भेटेको थियो। सरकारले संविधान विपरीत गैर आवासीय नेपाली नागरिकता बाहकलाई दश वर्षे नि शुल्क भिषाको प्रावधान राखेको छ। जसको चौतर्फी आलोचना भएको छ।