डाउफिन काउन्टीले भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्गलाई दियो ८८ हजार डलर अनुदान

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ यहाँ रहेका नेपाली भाषी समुदायमा मानसिक स्वास्थ्य क्षेत्रमा जनचेतना जगाउन भन्दै डाउफिन काउन्टीले भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) लाई ८८ हजार अमेरिकी डलर अनुदान दिएको छ।
काउन्टीको बुधवार बिहान बसेको आयुक्तहरूको बैठकले अनुदान दिने प्रस्ताव पारित गरेको हो ।
‘भुटानी समुदायलाई सम्बोधन गर्न, आत्महत्या रोकथामको लागि ८८ हजार भन्दा बढी अनुदान स्वीकृत गर्यौँ।‘बोर्ड बैठक पछि निर्वाचित अध्यक्ष जस्टिन डगलसले समाज टाइम्स सँग भने।
गत वर्षको होलिडे सिजनमा ९० दिनको बिचमा नेपाली भाषी भुटानी समुदाय ६ जनाले आत्महत्या गरे पछि बीसीएचले स्थानीय सरकारका अधिकारीहरू सँग त्यसको रोकथामका उपायहरूमा काम गर्न अनुरोध गरेको थियो।
‘हामीसँग आत्महत्या रोकथामको हाम्रो फराकिलो स्रोतहरू छन्, तर हामी यो पनि बुझ्छौँ कि केही समुदायहरूलाई एक विशेष प्रकारको सञ्चार र निश्चित रूपमा भाषा अवरोधहरू छन् र त्यसका अन्य चीजहरू चाहिन्छ।‘अध्यक्ष डगलसले भने।
अनुदान रकम पारित भए पछि बीसीएचका अध्यक्ष तिलक निरौलाले बोर्ड बैठकमा उपस्थित भएर काउन्टी अध्यक्ष र आयुक्तहरूलाई धन्यवाद दिएका थिए।
उनले तत्काल नै काम शुरु गर्ने बताए। ‘मानसिक स्वास्थ्यमा जनचेतना जगाउने काममा यो रकम खर्च गर्छौ।‘समाज टाइम्स सँग अध्यक्ष निरौलाले भने।
उनले तीन जना कर्मचारी नियुक्ति गरी काम गरिने बताए।
‘६ महिना भित्रमा यो पैसा खर्च गर्नु पर्छ।‘निरौलाले भने, ‘हामी यो कार्यक्रमको निरन्तरता हामी चाहन्छौ। मैले यो कार्यक्रमको निरन्तरताका लागि बैठकमा कुरा पनि राखेको छु निरन्तरता दिनु पर्छ भन्नेमा उहाँहरू पनि हुनु हुन्छ।‘
डाउफिन काउन्टीका निवर्तमान अध्यक्ष तथा आयुक्त जर्ज हार्टविकले काउन्टीले बीसीएचलाई दिएको अनुदान स्वास्थ्य समस्यामा संघर्ष गरिरहेका लागि भएको बताए।
‘म वर्षौँदेखि भुटानी समुदाय र नेपाली समुदायसँग संलग्न छु। समस्याहरूसँग संघर्ष गरिरहेका छन्, र उनीहरू कसरी नयाँ भूमिमा आउन सक्छन् भन्न यो सहयोग हो।‘ उनले भने।