ओन्टारियोमा चार दिन तीन रात
१२ जुलाई २०२४ को शुक्रवारको दिन बिहानै देखि मौसम बदलिएर आयो। त्यसै दिन बिहानै उत्तर अमेरिकी देश क्यानडाको यात्रा तय गरेका थियौ। अगिल्लो दिनको उखर्मौलो गर्मी भोलिपल्ट एकाएक मौसममा परिवर्तन आयो। सिमसिम पानी पर्न सुरु भयो। नर्थक्यारोलिनाको आकाश बादलले पुरै ढाकेको थियो। मौसम शीतल भए पनि यात्राका लागि यस्तो मौसम भने उपयुक्त हुँदैन। नर्थक्यारोलिना देखि क्यानडा बोर्डर सम्म पुग्न ११ घण्टाको समय पार गर्नु पर्थ्यो। हामी सबैका लागि क्यानडाको यात्रा पहिलो थियो। खुलेको मौसममा यात्रा जति रमाइलो हुन्थ्यो त्यो रमाइलो पाउन सकेनौ। भर्जिनियासम्म नै मौसमले हामीलाई गिज्याइ रह्यो। कहिले पानी,कहिले बादल। हामी बिहानको ६ बजेर ९ मिनट जाँदाँ घरबाट निस्केका थियौ ।
बादलले ढाकेको आकाश, काला सडक र नर्थक्यारोलिनाको हरियालीको संयोजन बेजोडको थियो। घरबाट निस्केको १५ मिनट पछि मौसमले हामीलाई सचेत गरायो। गाडीको स्पिड भन्दा पानीको स्पिड तेज थियो। मौसम अँध्यारो भएकोले सडकमा गाडीहरू बत्ती बालेर कुँदिरहेका देखिन्थे।
नर्थक्यारोलिनाको मौसम ८ बजे सम्म पानी पर्ने देखाएको थियो। तर भर्जिनिया पुग्दा सम्म पानी परि नै रह्यो। हामी उज्यालो मौसमको खोजीमा थियौ। जब हामी मेरिल्यान्ड प्रवेश गर्यौ, मौसम बिस्तारै उज्यालिँदै आयो। पानी कम हुँदै गयो र घामका किरणहरूले उज्यालो छर्दै मौसम रमाइलो बनाउँदै गयो। मौसम खुलेकोले हाम्रो मन पनि उत्साहित भइरहेको थियो। आँखाले पनि प्रकृतिसँग प्रेम गर्न थाल्यो ।यात्राले रमाइलो पन दिन थाल्यो। अझ नयाँ ठाउँमा रमाइला दृश्यहरू हेर्न र देख्न पाउँदा यात्रा अझ रोचक बन्दै गइरहेको थियो।
यो समयको मौसम नेपाल र अमेरिकाको उस्तै उस्तै हुने रहेछ। पानी पर्ने मौसम। नेपालमा बाडी पैरोले धन जनको क्षति भइरहेको समय थियो। अमेरिकामा पनि हावा हुरी र पानी को समय पर्ने रहेछ। मौसमका बारेमा सतर्कता अपनाउने सूचनाहरू आइरहेका थिए ।सात बजेर सोह्र मिनटमा हामीले नर्थक्यारोलिनालाइ भौगोलिक रूपमा नै छोड्यौ र भर्जिनिया प्रवेश गर्यौ। पानीले भने पिछा गरी नै रह्यो।मौसम अझ अँध्यारो हुँदै गयो। बिहानीको छनक अझै सिद्धिएको थिएन। मौसम खुल्न नसकेकोले पनि यस्तो महसुस भएको हुन सक्छ। हामी रिचमोण्ड पुग्दा ८.५६ भएको थियो। पानी निरन्तर परिरहेको थियो। सडकको अत्यास लाग्दो जाम खेप्दै अगाडि बढिरहेका थियौ । गाडी गुड्दा सडकबाट निस्केको पानीको बाफले सडक कुइरोले ढाके जस्तै देखिन्थ्यो। गाडी चलाउन अप्ठेरो भइरहेको थियो।
दिनको १२ बज्यो अझै पनि पानी ले विश्राम लिएन। पानी परिरहेकोले होला बिहानी उज्यालोको अनुभूति हराएको थिएन । १२.२५ मा हामी मेरिल्यान्ड पुग्यौ। मौसम खुल्दै आयो। घाम पानी मिसिएको मौसमले आकाश खुल्ने सङ्केत दिइरहेको थियो। जस्तो सुकै मौसम भए पनि सडकमा गाडीहरूको कुँदाइमा कमी थिएन। भर्जिनिया र मेरिल्यान्डको बिचमा भएको सडक दुर्घटनाले केही समय सडक जामको सामना गर्नु पर्यो। मेरिल्यान्डको आकाश बिस्तारै खुल्दै थियो। बादल हटेर निलो आकाश देखिन थाल्यो। अब भने आकाश खुल्ने निश्चित जस्तै भयो। आकाश खुले पनि घाम थिएन,पानी थिएन। आकाश निलो देखियो। बिस्तारै रमाइलो हुन थाल्यो।
मेरिल्यान्ड र नर्थक्यारोलिनाको भौगोलिक स्वरूपमा धेरै फरक देखियो ।भौगोलिक विविधताले पनि फरक अनुभूति प्राप्त भइरहेको थियो । बिस्तारै आकाश खुल्दै घाम लाग्दै आइरहेको थियो। २ बजेर ११ मिनटको तातो घाम शरीरमा पर्न थाल्यो।मौसमले हामीलाई रमाइलो दिन थाल्यो। दिनको २.३० भएको थियो पेन्सिल्भेनिया प्रवेश गर्दा। पेन्सिलभेनियाले गरेको स्वागतलाई स्विकार्दै हामी अगाडि बढ्यौ । पेन्सिल्भेनियाको ल्याण्डस्केप नर्थक्यारोलिनाको भन्दा धेरै नै फरक देखियो। सुतेका पहाड, होचो अग्लो जमिन पहाडको फेदीमा बस्ती र सडकहरू देखिन्थे। पेन्सिल्भेनियाका होचा र सुतेका पहाड र करेली परेका बस्ती र जमिनहरूले लन्डन र अस्ट्रेलियाका कतिपय भूभागको झल्को दिइरहेको थियो। भौगोलिक आकार र स्वरूप मिल्दाजुल्दा भएर होला उस्तै उस्तै देखिएको।फिल्याडेल्फियाको लामो र रमाइलो यात्रा पुरा गरियो।
बेलुकाको ७ बजेर ७ मिनट गइसकेको थियो। तर पनि न्युयोर्कसिटीको कुनै सङ्केत देखिएन र पुगिएको छैन। आँखाहरू न्यु योर्कको साँझको दृश्य हेर्न लालायित थिए । हामीले प्रकृतिको सुरम्यता हेर्दै जाने उद्देश्यले टोल तिर्ने सडकको प्रयोग गरिएन। यात्रा लामो र रमाइलो भयो। प्लेनको यात्रा रोजेको भए सायद यो आनन्द कहाँ मिल्थ्यो र ! जमिनसँग सम्बन्ध गाँसेर गरिएको यात्राको आनन्द धेरै फरक हुँदो रहेछ।
बेलुकाको ८ बजेर २२ मिनटमा हामीलाई न्यु योर्कले स्वागत गर्यो। पेन्सिल्भेनियाको लामो जमिनको यात्रालाई पुरा गरेर न्यु योर्कको जमिन माथि हाम्रो गाडी प्रवेश गर्यो। तर न्यु योर्कको लालसा पुरा हुन सकेन। न्यु योर्क सिटिलाई बाइपास गरेर हामी न्यु योर्क स्टेटको बफेलो जोन पुगेछौ। हाम्रो उत्सुकता र उद्देश्य जति छिटो क्यानेडियन कस्टम क्लियर गरेर बेलुकाको नियग्राफल्सको दृश्यलाई आस्वादन गर्ने थियो। त्यसैले न्यु योर्कसिटीलाई फर्कँदा भेट्ने गरी फिलाडेल्फियाका साना, होचा र सुतेका पहाड,तरेली परेका जमिन, साना र मझौला सहरहरू हेर्दै चार घण्टाको लामो यात्रा पार गर्यौ र न्यु योर्क स्टेटको बफेलो जोन पुग्यौ। न्यु योर्कको अत्यास लाग्दो जामलाई छिचोलेर बफेलो जोन पुग्ने हाम्रो सोचलाई प्रविधिले पनि साथ दियो। प्रविधिले न्यु योर्कसिटीलाई यसरी बाइपास गर्यो कि प्रविधिसँग न्यु योर्कको पुरानो रिस भए जस्तै गरेर। न्यु योर्क सिटी त क्यानडाबाट फर्कँदा जानु नै थियो। तर फिलाडेल्फियाको ती सुन्दर दृश्यहरू हामीले कहिल्यै नभुल्ने गरी आँखा भित्र राखेर आयौ।
बेलुकाको ९.४० मा हामीले क्यानेडियन कस्टम क्लियर गरेर क्यान्डियन भूमिमा सशरीर पुग्यौ। नियग्राफल्समा दैनिकी हुने फायरवोर्क हेर्ने तीब्र इच्छा नर्थक्यारोलिनाबाट यात्रा प्रारम्भ गर्दा नै थियो। रातको ठिक १० बजे बढीमा ५ मिनट को फायरवोर्क हुने रहेछ। नियग्राफल्सको प्राकृतिक दृश्यलाइ प्रबिधिसंग संमबन्ध स्थापित गरेर रंगिन बनाइएको दृश्यले मानिसहरूको मन मश्तिष्कलाइ उत्तेजित बनाइ रहेको पाइन्थ्यो। रातको झरनालाइ रंग भरेर सिल्पी देखाइएको थियो। त्यो प्राकृतिक थिएन। अब प्राकृतिक दृश्य हेर्ने रहर पुरा गर्न अर्को दिनको बिहान कुर्नु पर्ने भयो।
नियग्राफल्स
बिहानै – नजिकै पुगेर प्रकृतिसँग नियग्राफल्सको सम्बन्ध र मानिसहरूद्वारा प्रकृतिलाई गरिएको प्रेम कौसललाई हेरेर भरपुर आनन्द लिने काम गरियो। नियग्राफल्स – पानी र जमिन बिचको युगौँ युगको सम्बन्धको गहिरो प्रस्तुति थियो। जुन अटुट र अपार थियो । अमेरिका र क्यानडालाई प्रकृतिले दिएको अतुलनीय उपहार थियो – नियग्राफल्स । सुपरियर लेक, सल्टमरिन रिभर, लेक हुरोन, लेक क्लियर , लेक इरिनबाट, नियग्रा रिभर भएर अमेरिका र क्यानडाको बोर्डर भएर बग्ने रहेछ नियग्रा रिभर । लामो दुरीसम्म एक भएर बग्दै आएको रिभर नियग्रामा आइपुग्नु केही दुरी टाढाबाट विभाजित हुँदै आएर क्यानडा र अमेरिकाको भूमिमा बग्ने रहेछ। नियग्रा रिभर विभाजित भएर अमेरिका र क्यानडा तर्फको अग्लो भूभागबाट होचो भाग तिर झरना बनेर झरेको देखिन्छ जसलाई नियग्राफल्स भनेर भनिन्छ।
नियाग्राफल्स तीन वटा झरनाहरू मिलेर बनेको रहेछ। हर्सशु फल्स, अमेरिकन फल्स र ब्राइडलवेल फल्स। यी तिन वटै झरनाहरू क्यानडा र संयुक्त राज्यको बिचको सिमानामा फैलिएको नियाग्रा गर्जको दक्षिणी छेउमा अवस्थित छन्। अमेरिका र क्यानडाको बोर्डरबाट बगेको पानी पुन नियग्रा रिभर भएर बग्छ र ओन्टारियो लेकमा पुग्छ। ओन्टारियो लेकको पानी थाउजेण्ड आइल्याई हुँदै सेन्टलरेन्स रिभरका रूपमा बग्दै नर्थ एट्लान्टिक ओसनमा पुगेर समाहित हुने रहेछ। यसरी सिर्जित भएको नियग्राफल्सले संसारका मानिसहरूको मनलाई तानिरहेको छ। प्रकृतिले पनि थोरै पक्षपात गरेको देखियो। अमेरिकालाई भन्दा क्यानडालाई नियग्राफल्सको सौन्दर्य अलि बेसी प्रदान गरेको रहेछ। क्यानडा तर्फको भूभागबाट नियग्राफल्सको आस्वादन गर्न र लिन जति सजिलो र आनन्द छ त्यति नै सुन्दर देखिन्छ। जुन सुन्दरताको तृप्ति अमेरिकी भूभागबाट नहुने रहेछ। नियग्राफल्सको सौन्दर्यलाई आफ्नो पक्षमा पार्न अमेरिकाले गरेको मेहनत जटिल देखिन्थ्यो। क्यानडालाई भने प्रकृतिले नै सहज बनाइदिएको रहेछ। स्व आर्जित देखिन्थ्यो। नियग्राफल्सलाइ नजिकबाट बुझ्न ,हेर्न र स्पर्श गर्न हामीले एक रात र एक बिहानको समय खर्चिएका थियौ । बिहानको एकघन्टा क्रुजमा सयर गरेर झरनाको पानी शरीर भरि पर्ने गरी पुग्यौ। त्यसले दिने आनन्द र रमाइलो सहजै प्राप्त हुने किसिमको थिएन। अमेरिका र क्यानडाका दुवै देशले त्यो सेवा उपलब्ध गराएका रहेछन्। क्रुजमा सबार मानिसहरूलाई उपलब्ध गराइएका निला र राता ड्रेसहरूले अमेरिकी क्रुज र क्यानेडियन क्रुजलाई छुट्याइरहेको देखिन्थ्यो। हामीले क्यानेडियन भूमिबाट त्यो स्वाद लिएका थियौ। त्यसै दिन नियग्राफल्सको सुन्दरता र बैभवलााइ छोडेर हामीले टोरोन्टोका लागि यात्रा तय गर्यौ। दिनको ११ बजेको थियो नियग्राफलबाट हिँड्दा। एक सय पैँतालिस किमी टाढा रहेको टोरोन्टो सिटी पुग्यौ। टोरोन्टोको प्रख्यात ल्याण्डमार्कका रूपमा रहेको सी एन टावर चढ्ने र सिएन टावरबाट देखिने प्राकृतिक र भौतिक स्वरूपलाई नियाल्ने कार्यक्रमलाई हामीले यात्रा तय गर्दा नै प्राथमिकतामा राखेका थियौ।भतिज प्रलिनको निमन्त्रणामा हामीले क्यानडाको यात्रा गरेका थियौ।
सिएन टावर
क्यानडाको टोरोन्टो पुगेपछिको हाम्रो पहिलो प्राथमिकता सिएन टावर हेर्ने र चढ्ने थियो। त्यसैले ५३ क्यानेडियन डलर तिरेर सिएन टावरको टिकट किनियो र चढियो सिएन टावर। अनि टोरोन्टो सिटीको पुरै दृश्यहरू आँखा भरी राखेर मन मस्तिष्कमा कैद गरियो। नयाँ ठाउँले सदैव नयाँ अनुभूति दिइरहेको हुन्छ। त्यसो त क्यानडाले मलाइ २०१० मा प्रवेशाज्ञा दिन इन्कार गरेको थियो। त्यसैले क्यानडाको यात्रा मेरो लागि अनिवार्य र उत्सुकता दुवै थियो। सन २०१० मा नै क्यानडा जाने ,टोरोन्टो घुम्ने र सी एन टावर चढ्ने मेरो चाहनामा बादल लागेको थियो। मेरो त्यो चाहना पुरा हुन चौध वर्ष लाग्यो । क्यानडाले मलाइ किन प्रवेशाज्ञा दिएन ? म आफै आश्चर्यमा परेको थिए। अमेरिका र अस्ट्रेलिया जस्ता सम्पन्न मुलुकले प्रवेशाज्ञा दिँदा क्यानडाले प्रवेशाज्ञा दिएन। त्यसै वर्ष म बेलायत र जापान दोस्रो पटक पुगेको थिए। क्यानडाले मलाइ अस्वीकार गर्यो। त्यसैले क्यानडा प्रति मेरो धारणा फरक बनेको थियो। मलाइ प्रवेशाज्ञा नदिए पछि कुनै पनि दिन क्यानडा पुग्ने मेरो उत्कट चाहना पुरा गर्नु नै थियो। तर धेरै वर्ष कुर्न पर्यो। त्यति बेलाको असहज क्यानडा प्रवेशाज्ञा यति बेला सहज बन्यो। र क्यानडा प्रवेश गरे। टोरोन्टो पुगे ,घुमे र सिएन टावर चढे र सिएन टावरले दिने आनन्दलाई भरपुर उपयोग गरे । टोरोन्टो सहरलाइ धित नमरिन्जेल हेरे। अगाइन्जेल हेरे। ५५३ मिटर अग्लो सिएन टावर को ३१औँ तलामा पुगेर क्यानडाको सौन्दर्य र विशालता हेरे। ५५३ मिटर अग्लो सिएन टावर बनाउन चालिस महिना लागेको र त्रिसट्ठी मिलियन डलर खर्च भएको रहेछ। सन १९९५ मा अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्सले आधुनिक संसारका सात आश्चर्य मध्ये एकको रूपमा वर्गीकृत गरिएको सिएन टावरले मौसम अनुसार रङ्ग परिवर्तन गराउन विशेष किसिमको प्रविधि जडान गरिएको रहेछ।आश्चर्यको कुरा के रहेछ भने यो पश्चिमी गोलार्धको सबै भन्दा अग्लो संरचना रहेछ। ११७९१० मेट्रिक टन वजन भएको सिएन टावरमा प्रति वर्ष पचहत्तर पटक चट्याग परेको रेकर्ड रहेछ।
सिएन टावर चढ्न टिकट लिएर पनि धेरै समय कुर्नु पर्यो। पाचौ सिफ्टमा मात्र अर्थात् बेलुकाको ६.३० मा हाम्रो पालो आयो। म ,कल्पना र प्रलिनलेसंगै सिएन टावर चढ्यौ। सिएन टावरमा हुने मानिसहरूको भिड र क्षमता व्यवस्थापनमा धेरै नै ध्यान दिएको पाइन्थ्यो। ११/१२ घण्टाको लामो जमिन यात्रा गरेर हामी क्यानडा पुगेका थियौ।
थाउजेण्ड आइल्याण्ड
ओन्टारियो लेक संसारकै ठुलो लेक मध्येको पहिलो लेक रहेछ।ब्रिटिस साम्राज्यका समयमा यस लेकलाई ग्रेट लेक भनेर चिनिने रहेछ।१०देखि १४ हजार वर्ष पहिले नै हिउँ पग्लेर बनेको यो लेक मा १०० बीचेजहरू भए पनि कमै मात्र स्वीम गर्ने रहेछन्। महासागरसँग जोडिए पनि महासागरको जस्तो नुनिलो पानी लेक ओन्टारियोमा पाइँदैन। त्यसैले क्यानडियन सरकारले लेक ओन्टारियोको पानीलाई घरेलु प्रयोगमा उपयोग गरिरहेको रहेछ।
लेक ओन्टारियोमा अत्यधिक पानी पर्ने रहेछ। पानीको सतह बढाउन सहयोग पुग्ने रहेछ। लेक ओन्टारियोमा अधिक पानी पर्नुको कारण के रहेछ जमिनले घेरिएको लेक ओन्टारियोको वरिपरि स्ववेजका रूखहरूले घेरिएको रहेछ। जुन रूखहरूले पानी पार्न सहयोग गर्ने रहेछ अर्थात् ती रूखहरू भएको ठाउँमा पानी प्रशस्त पर्ने रहेछ। भने महासागरको झझल्को दिने लेक ओन्टारियो क्यानडालाई प्रकृतिले दिएको अर्को उपहार रहेछ।
त्यस्तै थाउजेण्ड आइसल्याण्ड पनि एउटा सुन्दर र हेर्नै पर्ने ठाउँ रहेछ। यो पनि अर्को ठुलो लेक रहेछ जसलाई थाउजेण्ड आइस्ल्याण्ड भनिँदो रहेछ। जुन आइस्ल्याण्ड ओनटारियो लेकसङ जोडिएको रहेछ। जहाँ साना ठुला टापुहरू लेकको बिच बिचमा देखिन्छन् र रहेका थिए। थाउजेण्ड आइस्ल्याण्ड भने पछि पानी माथि हजारौँ जमिनका ढिस्काहरू अवस्थिति रहेका हुन्छन् भन्ने नै हुन्छ। त्यसैले थाउजेण्ड आइस्ल्याण्ड नामकरण गरिएको रहेछ। थाउजेण्ण्ड आइस्ल्याण्ड घुम्न जाँदा मनलाई चित्त बुझाउन सक्ने सम्मको समय लिएर जानु पर्ने रहेछ थाउजेण्ड आइस्ल्याण्डमा ।
थाउजेण्ड आइस्ल्याण्ड टोरोन्टोबाट २३० कि मि टाढा पर्ने रहेछ। तर पनि थाउजेण्ड आइस्ल्याण्डको यात्रा गर्यौ हामीले। थाउजेण्ड आइस्ल्याण्डको दृश्यावलोकनका लागि आइस्ल्याण्ड स्टार क्रुजमा यात्रा गर्यौ। पानी माथि रहेका हजारौँ टापुहरूलाई हेर्न त्यति सजिलो थिएन। हामीसँग समय पनि कम थियो। दुई घण्टाको क्रुजको यात्राबाट प्राप्त अनुभूतिलाई शब्दमा उतारेर व्याख्या गर्न त्यति सजिलो छैन र हुँदैन पनि। यात्राका क्रममा हामीले टोरोन्टोलाइ चार दिन ,तीन रात समय दिएर पुन भेट्ने गरी अमेरिका फर्कियौ।
कमल खनाल