पासपोर्ट सेवा अहिले चुस्तदुरुस्त : परराष्ट्रमन्त्री

काठमाडौँ / परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पासपोर्ट सेवा अहिले चुस्तदुरुस्त रहेको दावी गरेकी छिन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमवारको सो बैठकमा मन्त्री डा राणाले सो दावी गरेकी हुन्। ‘पासपोर्ट सेवा अहिले चुस्तदुरुस्त रहेको र पासपोर्ट खरिदका लागि आवश्यक प्रक्रियागत जटिलताका बाबजुद बोलपत्रमार्फत समयमै उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।’ बैठकमा राणाले भनिन्।
मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयले आफ्नो आवश्यकताअनुसार नै सङ्गठनात्मक सर्वे (ओएनएम) गरेको र यसबाट नेपाली डायस्पोरालाई सेवा दिन तथा अन्य कूटनीतिक सम्बन्ध विस्तारका क्षेत्रमा आगामी दिनमा सहयोग पुग्ने पनि जानकारी दिइन्।
उनले कतिपय मिसनमा आवश्यक जनशक्तिको अभावमा नेपाली नागरिकले त्यहाँ सेवा पाउन नसकेको तथा कतै मिसन विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यो नयाँ ओएनएमले यी सबै समस्याको समाधान गर्ने बताइन ।
उनले कतिपय शाखा महाशाखाहरुमा पनि परिवर्तन गरिने र आर्थिक कूटनीतिको अवधारणालाई आगामी दिनमा मूर्तरुप दिएर अन्य सरोकारवाला मन्त्रालयको सहभागितामा महाशाखा नै स्थापना गरेर अघि बढ्न कार्ययोजना बनाइने जानकारी बैठकलाई दिइन।