पृथ्वी जयन्ती मनाउन पनि राजनीतिक सौदाबाजी गर्नुपर्ने अवस्था आयो : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन पनि सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले प्रधानमन्त्री बनाउन सहयोग गर्छौँ पृथ्वी जयन्ती चाहिँ मनाऔँ भन्नुपर्ने अवस्था आएको बताएका हुन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्यालेन्डरमा लेख्न लगाए पनि सरकारले पृथ्वी जयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत नगरेको बताए । उनले यस्तो हीनताबोध गर्ने व्यक्तिहरूबाट देशको संरक्षण नहुने भन्दै आक्रोश पोखे ।
उनले भने,‘नेपाल भन्ने देश नभएको भए आज रामचन्द्र पौडेल कहाँको राष्ट्रपति हुनुहुन्थ्यो ? केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो ? शेर बहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो अब छैठौं र सातौँ पटकको लागि पर्खेर कुन देशको लागि प्रधानमन्त्री हुन बस्नुहुन्थ्यो होला ? तर पृथ्वी जयन्ती मनाउन प्रधानमन्त्री बनाउँछौँ, सहयोग गर्छौँ पृथ्वी जयन्ती चाहिँ मनाउनु पर्छ है भनेर सौदाबाजी गर्नु पर्ने अवस्था छ । क्यालेन्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीको अवसरमा एउटा औपचारिक कार्यक्रम गर्ने हिम्मत समेत गरेको छैन । यस्तो हीनताबोध गर्ने व्यक्तिहरूबाट मुलुकको संरक्षण कसरी हुन सक्छ ?’
त्यस्तै उनले देशको निर्माणमा पृथ्वी नारायण शाहको नेतृत्व र सबै पुर्खाको योगदान रहेको भन्दै अहिले गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयासहरू भइरहेको बताए ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रूपमा मान्ने कुरामा कुनै हीनताबोध गर्न नहुने उनको भनाई छ ।
त्यस्तै उनले नेपाली राजनीतिमा क्रियाशील व्यक्तिहरुले पृथ्वीपथलाई आफ्नो पथ ठानेर हिँडेको भन्दै पृथ्वीनारायण शाह नभएको भए आज नेपाल भन्ने राष्ट्र आफ्नो परिचय पनि पाउने नसक्ने बताए ।